काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हवाई भाडादर नबढाउन सबै वायुसेवा सञ्चालकलाई निर्देशन दिएको छ।
प्राधिकरणले हाल कायम रहेको हवाई भाडादरभन्दा बढी नलिने र यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। हवाई यात्रुको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अधिकतम भाडादरभन्दा कम तथा हालको परिस्थितिअनुसार भाडा स्थिर राख्न भनिएको प्राधिकरणले जनाएको छ।
तिब्बततर्फबाट आएको बाढीका कारण राजधानी काठमाडौंबाट बाहिरिने विभिन्न राजमार्ग असुरक्षित बन्दै बन्द भएपछि हवाई यात्रुको चाप बढ्ने सम्भावना देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हवाई कम्पनीहरूलाई यात्रुको बाध्यताको फाइदा उठाएर भाडा वृद्धि नगर्न सचेत गराएको हो।
प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सिता एयरलाई सर्वसाधारणको आवागमन सहज बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।
विपद्का कारण सडक यातायात अवरुद्ध भएको अवस्थामा हवाई सेवा नागरिकको आवागमनको महत्वपूर्ण विकल्प बन्ने भएकाले टिकटको उपलब्धता सहज बनाउन र भाडादर नियन्त्रणमा राख्न प्राधिकरणले विशेष जोड दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्