काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् तथा सञ्चार पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा जेनेरेटर र सोलारबाट चल्ने पोर्टेबल मोबाइल टावर पठाइने भएको छ।
बुधबार आएको विनाशकारी बाढीले विद्युत् संरचनामा क्षति पुर्याउँदा धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् अभावसँगै मोबाइल सेवा समेत प्रभावित भएपछि बाढी प्रभावित क्षेत्रसँग सञ्चार सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।
सञ्चार सम्पर्क विच्छेद हुँदा प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न तथा परिवारसँग सम्पर्क गर्न समस्या भएको छ। यसले खोज तथा उद्धार कार्यमा समेत कठिनाइ थपिएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै सरकारले वैकल्पिक माध्यमबाट सञ्चार सेवा सञ्चालन गर्ने तयारी गरेको हो। आवश्यक सञ्चार उपकरण हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर र मोबाइल चार्जिङको अस्थायी व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने बताएका छन्। यसबाट प्रभावित क्षेत्रसँग सञ्चार सम्पर्क स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
७ टावरमा क्षति
प्रारम्भिक विवरणअनुसार बाढीले नेपाल टेलिकमका रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा मोबाइल टावरमा क्षति पुर्याएको छ।
त्यस्तै, एनसेलको फाइबर अप्टिकल केबलसमेत बाढीले बगाएको छ। दुवै दूरसञ्चार कम्पनीका प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर सेवा पुनःस्थापनाको प्रयासमा जुटेका छन्।
तर विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेकाले सञ्चार सेवा तत्काल पूर्णरूपमा सञ्चालन गर्न चुनौती देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्