काठमाडौं । रसुवास्थित भोटेकोशी क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीको गति हालसम्मकै अत्यन्त तीव्र रहेको प्रारम्भिक विवरणले देखाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बाढीले रसुवाको टिमुरे बजारबाट सुरु गर्दै केही घण्टामै नुवाकोट, धादिङ हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो।
बुधबार बिहान करिब ८ः४० बजे टिमुरे बजारमा पुगेको बाढी अत्यन्तै तीव्र गतिमा तलतिर सरेको थियो। प्रारम्भिक विवरणअनुसार बाढीले रसुवागढीबाट करिब १३ किलोमिटर दूरीमा रहेको स्याफ्रुबेँसीसम्म पुग्न जम्मा १५ मिनेट लगाएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन्।
उनका अनुसार बाढीको यस्तो गति अत्यन्तै असाधारण र विनाशकारी प्रकृतिको देखिएको छ।
प्रतिघण्टा ५४ किलोमिटरसम्मको वेग
प्रारम्भिक मापनअनुसार टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा बाढीको गति करिब १५ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब ५४ देखि ५५ किलोमिटर पुगेको बताइएको छ।
विज्ञहरूका अनुसार नदीमा बाढीको गति ५ मिटर प्रतिसेकेन्डभन्दा माथि पुग्नु नै अत्यन्त खतरनाक मानिन्छ। तर भोटेकोशी क्षेत्रमा देखिएको प्रारम्भिक वेग त्योभन्दा निकै बढी रहेको विवरणमा उल्लेख छ।
तिब्बततर्फबाट ल्हेन्दे खोला र कुरुङ क्षेत्र हुँदै भोटेकोशीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा आसपासका नदी किनारका बस्तीमा ठूलो विनाश गरेको थियो।
बेत्रावती पुग्दा पनि उच्च वेग
स्याफ्रुबेँसीबाट करिब ३१ किलोमिटर तल रहेको बेत्रावती पुग्न बाढीले करिब ४० मिनेट लगाएको बताइएको छ। त्यस क्षेत्रमा बाढीको गति करिब १२.९२ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब ४६.५ किलोमिटर रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बेत्रावती क्षेत्रमा पुग्दा बाढीले बजार तथा नदी किनारका बस्तीमा व्यापक क्षति पुर्याएको थियो।
धादिङतर्फ जाँदा वेग घट्यो
बेत्रावतीबाट करिब ४७ किलोमिटर तल धादिङको फुर्केखोला पुग्दा बाढीको वेग घटेर करिब ५.६० मिटर प्रतिसेकेन्ड पुगेको बताइएको छ।
त्यसपछि कालीखोलातर्फ पुग्दा बाढीको गति थप घटेर करिब ४.१७ मिटर प्रतिसेकेन्ड पुगेको प्रारम्भिक विवरण छ। तर कालीखोलाबाट चितवनको देवघाटसम्म पुग्दा पुनः वेग बढेर करिब ५ मिटर प्रतिसेकेन्ड, अर्थात् प्रतिघण्टा करिब १८ किलोमिटर पुगेको उल्लेख गरिएको छ।
प्रारम्भिक तथ्याङ्कअनुसार बिहान ८ः४० बजे टिमुरे बजारमा पुगेको बाढीले करिब तीन घण्टाभित्र चार जिल्लाका नदी तटीय क्षेत्रमा प्रभाव पारेको थियो।
पुल, सडक र बस्तीमा व्यापक क्षति
बाढीले रसुवागढी–टिमुरे क्षेत्रका भन्सार, अध्यागमन, प्रहरी चौकी, सडक तथा जलविद्युत् आयोजनासँग सम्बन्धित संरचनामा ठूलो क्षति पुर्याएको बताइएको छ।
स्याफ्रुबेँसी बजारका साथै विभिन्न सडकखण्ड बगाएको बाढीले बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेँसी, खाल्टीबस्ती, सोले, त्रिशूली, बट्टारलगायत नदी किनारका बस्तीमा पनि क्षति पुर्याएको छ।
नुवाकोट हुँदै त्रिशूली नदीतर्फ बढेको बाढीले तुप्चे, ढुंगे, त्रिशूली बजार र देवीघाट क्षेत्रमा असर पुर्याएको बताइएको छ। धादिङतर्फ फुर्केखोला र घाटबेँसी आसपासका पुल तथा संरचनामा समेत क्षति पुगेको विवरण छ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार प्रारम्भिक रूपमा उपलब्ध विवरणले रसुवागढी क्षेत्रमा बाढीको सतह करिब १५ मिटरसम्म पुगेको र देवघाट पुग्दा करिब ५ मिटर रहेको देखाएको छ।
उनले यस्तो तीव्र गतिमा आएको बाढी विगतका अभिलेखमा विरलै देखिएको हुन सक्ने बताएका छन्। यद्यपि, बाढीको वास्तविक गति, कारण र सम्पूर्ण क्षतिको विस्तृत वैज्ञानिक मूल्याङ्कन भने थप अध्ययनपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्