पोखरा । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका ९ जनाको शव पोस्टमार्टमका लागि पोखरा ल्याइएको छ।
चितवन र नवलपरासी पूर्वका विभिन्न स्थानमा फेला परेका शव चितवनमा राख्ने ठाउँ अभाव भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उनका अनुसार बुधबार ९ वटा शव पोखरा ल्याइएको हो। चितवन र नवलपरासी पूर्वमा फेला परेका शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिनेछ।
“चितवन र नवलपरासी पूर्वमा भेटिएका शवहरू पोस्टमार्टमका लागि यहाँ ल्याइएको हो,” बरालले भने, “उता शवगृह सानो भएकाले यता ल्याइएको हो। अझै शव आउन सक्ने सम्भावना छ, त्यस विषयमा हामी समन्वय गरिरहेका छौँ।”
शव परीक्षणको तयारी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शव परीक्षणका लागि आवश्यक तयारी थालेको छ। पोस्टमार्टमपछि शवको पहिचान तथा मृत्युको कारण खुलाउन सहयोग पुग्ने जनाइएको छ।
बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवलाई सम्बन्धित स्थानमा व्यवस्थापन गरी पहिचान तथा पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्