काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले विपद्बाट उत्पन्न संवेदनशील परिस्थितिमा हृदयविदारक तस्बिर, भिडियो तथा सन्देशको प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिबाट प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति र परिवारप्रति मानवीय संवेदनशीलता अपनाउन सबैसँग अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार विपद् प्रभावितको उद्धार तथा राहत वितरणका लागि नेपाल सरकारका विभिन्न निकाय परिचालित छन्। यस्तो अवस्थामा सूचना सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त सूचनालाई मात्र आधार बनाएर समाचार तथा सूचना सम्प्रेषण गर्न मन्त्रालयले अनुरोध गरेको छ।
भ्रामक सूचना र अफवाह नफैलाउन आग्रह
मन्त्रालयले अपुष्ट वा भ्रामक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा त्रास फैलाउने कार्य नगर्न पनि आग्रह गरेको छ। विपद्को संवेदनशील परिस्थितिको फाइदा उठाएर अफवाह फैलाउने, अतिरञ्जित वा त्रासपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
सामाजिक सञ्जाल प्रयोगमा पनि सावधानी
मन्त्रालयले सामाजिक सञ्जालमा हृदयविदारक घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न आग्रह गरेको छ।
पीडित तथा उनीहरूका परिवारप्रति पूर्ण मानवीय संवेदनशीलता देखाउँदै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न मन्त्रालयले सबैसँग अपिल गरेको छ।
विपद्को समयमा समाजलाई भयावह, विचलित वा विक्षिप्त बनाउने खालका सामग्रीको प्रकाशन, प्रसारण, अपलोड, सेयर, पोस्ट तथा रिपोस्टजस्ता कार्य नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले कठिन परिस्थितिमा सही, तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषणमार्फत उद्धार, राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्याउन सञ्चारमाध्यम र आम नागरिकलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्