नुवाकोट । रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि नुवाकोट प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले विदुर नगरपालिका लगायतका क्षेत्रमा माइकिङ गर्दै नदीकिनार तथा जोखिमपूर्ण स्थानमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानमा सर्न अनुरोध गरेको हो। “फेरि बाढी आएको सूचना प्राप्त भएको छ, त्यसैले नदी नजिक नजानुहोस् र अग्लो, सुरक्षित स्थानमा बस्नुहोस्,” प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराएको छ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीमा परेर कैयौँ घर तथा भौतिक संरचना बगाउनुका साथै ठूलो मानवीय क्षतिसमेत भएको थियो।
प्रहरीले पुनः बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तथा खोलानालाको आसपास नजान र जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सतर्कता बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्