सिंहदरबार । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षति, उद्धार, राहत र पुनःस्थापनाका विषयमा आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो। बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने, बेपत्ताको खोजी तीव्र पार्ने र क्षतिग्रस्त सडक, पुललगायत अत्यावश्यक पूर्वाधारको पुनर्निर्माण अघि बढाउने विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति भएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनले खोज तथा उद्धार कार्य जारी राखेका छन्। मन्त्रिपरिषद् बैठकबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, विस्थापित परिवारको व्यवस्थापन गर्ने तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। सरकारले बाढीपीडित परिवारलाई आवश्यक आवास तथा पुनःस्थापनामा सहयोग गर्ने विषयमा समेत आवश्यक निर्णय गर्ने तयारी गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्