काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीको प्रभाव भारतको सीमावर्ती क्षेत्रमा समेत देखिन थालेको छ। उत्तर प्रदेशको महाराजगन्जमा गण्डक (नारायणी) नदीबाट चार तथा कुशीनगरमा तीन गरी सात जनाको शव फेला परेको छ।
अधिकारीहरूका अनुसार फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको बाढीले बगाएर शवहरू भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको छ। सशस्त्र सीमा बलको उद्धार टोलीले नदीमा गस्ती गर्ने क्रममा तैरिरहेको अवस्थामा शवहरू देखेको थियो। त्यसपछि मोटरबोटको प्रयोग गरी शवहरू निकालेर महाराजगन्ज र कुशीनगरका जिल्ला सदरमुकाम पठाइएको जनाइएको छ। हालसम्म फेला परेका शवको पहिचान खुल्न सकेको छैन। भारतीय अधिकारीहरूले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान अघि बढाएका छन्। नेपालमा आएको बाढीपछि नारायणी नदीमा पानीको बहाव बढेसँगै भारतको सीमावर्ती क्षेत्रमा समेत जोखिम देखिएको छ। नदीमा बाढीले बगाएर ल्याएका मानिस तथा सामग्री भेटिन थालेपछि उद्धार टोलीले नदी आसपासका क्षेत्रमा निगरानी बढाएको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्