काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि आफ्ना आफन्तको अवस्था बुझ्न ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारका सदस्यहरू नुवाकोटस्थित नेपाली सेनाको श्री १ सैन्य तालिम केन्द्रमा पुगेका छन्।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो क्षति भएपछि उद्धार गरिएका नागरिक तथा फेला परेका शव व्यवस्थापनका लागि सैन्य तालिम केन्द्रलाई प्रमुख समन्वयस्थल बनाइएको छ।
सिन्धुपाल्चोकका कर्मा तामाङ आफ्ना भाइको खोजीका लागि टिमुरेबाट उद्धार टोलीले ल्याउने आशामा नुवाकोट पुगेका छन्। उनका भाइ रसुवामा व्यवसायका लागि पुगेका बेला बाढीपछि सम्पर्कविहीन भएका हुन्।
त्यस्तै, बाढीपछि आफन्तको अवस्थाबारे जानकारी लिन तथा शवको पहिचान गर्न विभिन्न जिल्लाबाट परिवारका सदस्यहरू सैन्य तालिम केन्द्र पुगिरहेका छन्। नेकपा सिन्धुपाल्चोकका नेता माधव सापकोटाका अनुसार बिहीबारसम्म सिन्धुपाल्चोकबाट मात्रै २५४ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनले यो संख्या अझै बढ्न सक्ने बताएका छन्। बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेंसीसहित नुवाकोटको त्रिशूली बजार, देवीघाट र बेत्रावती क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
त्रिशूली बजारमा व्यवसाय गर्दै आएका सबिनराज भण्डारीले करोडौँको लगानीमा बनेको घर तथा पसल बाढीले बगाएको बताए। तर, बाढीको सूचना पाएपछि समयमै भाग्न सकेकाले ज्यान जोगिएको उनको भनाइ छ।
उनले “सम्पत्तिभन्दा जीवनै महत्वपूर्ण छ” भन्दै बाढीको वास्तविक जोखिम आकलन गर्न नसक्दा कतिपयले ज्यान गुमाउनुपरेको बताए। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको बिहीबार साँझसम्मको तथ्यांकअनुसार भोटेकोसी बाढीमा परी ४६९ जनाको मृत्यु भएको छ भने ९७७ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा सुरक्षाकर्मी र विदेशी पर्यटकसमेत छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ८६ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्। जसमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन्। त्यस्तै, रसुवा भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ कर्मचारी पनि बेपत्ता सूचीमा रहेको जनाइएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्