काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयवासीलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ । बाढीपछि टनेलमा मानिसहरू फसेको जानकारी प्राप्त भएलगत्तै उद्धारका लागि नेपाली सेना परिचालन भएको थियो । प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र जोखिमपूर्ण अवस्थाबीच सेनाको टोलीले टनेलमा फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालेको हो । टनेलमा अझै १०० जनाभन्दा बढी मानिस फसेको बताइएको छ । उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली निरन्तर परिचालित छ । जटिल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली दिनरात खटिएको छ । यसैगरी, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा पनि सेनाले उद्धार अभियान जारी राखेको छ । सीक्यूआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा परिचालित १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ । नेपाली सेनाका अनुसार भदौ ११ गते रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट मात्रै ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरिएको छ । बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्