पोखरा । नेपालमा आएको भीषण बाढीपछि भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदीमा ७ वटा शव फेला परेका छन्।भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार महाराजगन्जमा चार र कुशीनगरमा तीन शव फेला परेका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुष रहेका छन्। सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानी गर्ने क्रममा तैरिरहेको अवस्थामा शव फेला पारेको थियो। मोटरबोटको प्रयोग गरी शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पुर्याइएको छ। महाराजगन्जको निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताका अनुसार बिहीबार दिउँसो गण्डक नदीबाट चार शव बरामद भएका हुन्। तीमध्ये तीन महिला र एक पुरुष छन्। उनले शवहरू माथिल्लो नेपालबाट बगेर आएको हुन सक्ने सम्भावना रहेको बताएका छन्। शवको पहिचान हुन सकेको छैन भने भारतीय प्रशासनले नेपाली प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। यस्तै, कुशीनगरमा फेला परेका तीन शवमध्ये दुई महिला र एक पुरुष रहेका छन्। कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार तीनै शवलाई फ्रिजरमा सुरक्षित राखिएको छ र पहिचान प्रक्रिया अघि बढाइएको छ। नेपालमा आएको बाढीपछि नदीको बहावसँगै मानव शवसमेत भारततर्फ पुगेको हुनसक्ने आशंका गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्