पोखरा । पोखराका पर्यटन व्यवसायीलाई धम्क्याएर रकम असुल्दै आएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–२५ स्थायी घर भई हाल लेकसाइड बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले करिब एक महिनादेखि पृथ्वीचोक, लेकसाइडलगायत क्षेत्रमा रहेका पर्यटन व्यवसायीलाई ‘द फायर ग्याङ’ नामका ह्वाट्सएप नम्बरबाट सम्पर्क गरी रकम माग गर्दै आएका थिए।
उनीहरूले जनधनको क्षति पुर्याउने, अपहरण गर्ने तथा दुर्घटना गराउनेजस्ता त्रासपूर्ण धम्की दिँदै व्यवसायीलाई रकम दिन बाध्य पार्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
धम्की दिँदै रकम माग भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले दुवै जनालाई भदौ १२ गते पोखरा महानगरपालिका–६ डिहिकोपाटनबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्