चितवन । रसुवा बाढीमा परेर बेपत्ता भएकाहरूको शव चितवनको नारायणी किनारमा फेला पर्ने क्रम जारी छ । अहिलेसम्म सबैभन्दा धेरै शव चितवनमै फेला परेका छन् । शव ओसार्न एम्बुलेन्सलाई भ्याइनभ्याइ छ ।
नारायणी नदीमा फेला परेका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा निर्माण गरिएको ‘चिस्यान कक्ष’मा राखिएको छ ।
चिस्यान कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि डिस्प्लेमा देखाइएको छ । ती अनुहार आफ्ना आफन्तका हुन् कि होइनन् भनेर पहिचान गर्न सयौँ मानिस त्यहाँ पुगेका छन् ।
शुक्रबार दिउँसो चितवनका राजेन्द्र खनाल क्षेत्री पनि चिस्यान कक्षभित्र–बाहिर गरिरहेका थिए । उनको हातमा मोबाइल थियो । मोबाइलको स्क्रिनमा मुस्कानसहितको एउटा तस्बिर देखिन्थ्यो । त्यो तस्बिर उनकी बहिनी सुजाता कौडेलको थियो ।
सुजाता बाढीमा परेर बुधबार बिहानदेखि बेपत्ता छिन् । रक्षाबन्धनमा दाजु–बहिनीको मिलनको माहोल हुनुपर्ने बेला राजेन्द्र भने बेपत्ता बहिनी खोज्दै शवगृह धाइरहेका छन् ।
‘हामी दुई भाइको एउटा मात्रै बहिनी हो । आज ऊ हामीसँग सम्पर्कमा छैन,’ राजेन्द्रले भने ।
सुजाताको घर गोरखाको पालुङटार हो । उनी गोसाइँकुण्डको धार्मिक यात्रामा निस्किएकी थिइन् । उनीसहित ४३ जना सवार बस बाढीपछि बेपत्ता छ ।
बाढी आएको दिन बिहान ६ बजे सुजाताले परिवारसँग कुरा गरेकी थिइन् । त्यसपछि उनीसँग सम्पर्क हुन सकेको छैन ।
घटनाबारे थाहा पाएदेखि बाबुआमा र परिवारका सदस्य भावविह्वल छन् । निद्रा नपरेको र परिवारका सबै सदस्य रोएर बसेको राजेन्द्रले बताए ।
‘बाबुआमा सुत्नुभएको छैन । सबै रुँदै बसेका छन्,’ उनले भने, ‘म जेठो छोरा हुँ । रात लामो र कष्टकर भएको हुनाले म आफैँ सबैलाई सम्झाउँदै बसेको छु ।’
सुजाताका श्रीमान्, एक छोरा र अस्ट्रेलियामा रहेकी छोरी पनि यतिबेला गहिरो शोकमा छन् ।
कविताको आश– भाइ सुरक्षित पो छ कि !
शव खोज्नेको भीडमा भेटिइन् चितवन पर्साकी कविता बानियाँ । उनका १९ वर्षीय भाइ राजन कार्की तीन दिनदेखि बेपत्ता छन् ।
राजन काठमाडौंबाट रसुवास्थित टिमुरे भन्सारमा गाडी लिएर यात्रु लिन गएका थिए । घटनाको अघिल्लो दिन राति साढे १० बजे उनले दाइसँग कुरा गरेका थिए ।
‘हामी नाका आइपुग्यौँ, भोलि मान्छे लिएर काठमाडौं फर्कन्छौँ,’ राजनले भनेका थिए । त्यसपछि उनीसँग कसैको सम्पर्क भएको छैन ।
राजनसँग काठमाडौंबाट गएका पाँच जना र दोलखाका २५ देखि ३० जना अन्य यात्रु पनि थिए । भोलिपल्ट बिहानदेखि उनीहरूसँगको सम्पूर्ण सम्पर्क टुटेको छ ।
‘मलाई त भाइ त्यहाँ गएको पनि थाहा थिएन । बाढी गएको दिन राति साढे ७ बजेतिर बल्ल भाइ सम्पर्कमा छैन भन्ने खबर पाएँ,’ कविताले भनिन् ।
शवगृहको डिस्प्लेमा भाइको अनुहार देखिएको छैन । त्यसैले कविताको मनमा भाइ कतै सुरक्षित छ कि भन्ने आशा अझै बाँकी छ ।
‘मलाई अझै पनि आशा छ कि मेरो भाइ त्यस्तो बाढीमा परेको छैन होला । ऊ कतै पाखा लागेर सुरक्षित बसेको होला,’ उनले भनिन्, ‘यत्तिका दिनसम्म कन्ट्याक्ट नहुँदा कता–कता निराश पनि छु ।’
राजनको स्थायी घर दोलखाको मेलुङ गाउँपालिका–५ हो ।
चितवनको अस्थायी पहिचान केन्द्रमा भेटिएका राजेन्द्र र कविता प्रतिनिधि पात्र मात्र हुन् । यहाँ आउने हरेकको आँखामा आफ्ना मान्छे गुमाउनुको असह्य पीडा प्रस्ट देखिन्छ ।
चाडपर्वको उज्यालोमा रमाउनुपर्ने बेला विनाशकारी बाढीका कारण देश शोकमा डुबेको छ । बाढीले भौतिक संरचना मात्र बगाएको छैन, चाडपर्वको समय सुरु हुँदै गर्दा कयौँ परिवार घरबारविहीन बनेका छन् । हजारौँले प्रियजन गुमाएका छन् ।
कयौँ परिवारको ओठको हाँसो र खुसी पनि जीवनभरका लागि बाढीसँगै बगेको छ ।
रसुवा बाढीमा परेकाहरूका शव नारायणी नदी हुँदै भारतसम्म पुगेका छन् । नारायणीको चितवन क्षेत्रमा भेटिएका शव बिहीबारदेखि अस्थायी चिस्यान केन्द्र बनाएर संकलन गरिएको छ ।
पहिचान भएका शव परिवारको जिम्मा लगाइएको छ । चितवनमा हालसम्म २२१ वटा शव भेटिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्