पोखरा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका तथा विभिन्न जिल्लाबाट उद्धार गरी पोखरा ल्याइएका शवमध्ये ८७ वटाको पोस्टमार्टम पूरा भएको छ।
कास्की प्रशासनका अनुसार बाढीका कारण मृत्यु भएका रसुवासहित विभिन्न जिल्लाका १०२ शव पोखरा ल्याइएको थियो। तीमध्ये ८७ शवको पोस्टमार्टम सम्पन्न भएको र बाँकी १५ शवको पोस्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।
पोस्टमार्टम गरिएका ८७ शवमध्ये १५ वटा शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ। आफन्तले शव पहिचान गरेपछि कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाइएको हो।
बाँकी शवको पहिचानका लागि प्रशासनले मृतकका आफन्तसँग सम्पर्क गरिरहेको छ। पोस्टमार्टमका लागि विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको र टोलीले तीव्र रूपमा काम गरिरहेको प्रशासनले जनाएको छ।
“पोस्टमार्टम सोमबार सकिन्छ। पोस्टमार्टम सकिएका शवको पहिचानका लागि आफन्तलाई सम्पर्क गरिरहेका छौँ,” सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने।
आफन्त नआए वैकल्पिक व्यवस्थापन
प्रशासनले सकभर आफन्तलाई सम्पर्क गराएर शव पहिचान तथा हस्तान्तरण गर्ने प्रयास गरिरहेको जनाएको छ। तर लामो समयसम्म आफन्त सम्पर्कमा नआए वैकल्पिक रूपमा शव व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।
बरालका अनुसार वैकल्पिक व्यवस्थापन भन्नाले आवश्यक प्रक्रिया पूरा गरी शवलाई खाल्डो खनेर सुरक्षित रूपमा व्यवस्थापन गर्नु हो।
“सकभर आफन्तलाई सम्पर्क गरेर शव पहिचानका लागि आग्रह गर्ने हो। तर कथमकदाचित आफन्त सम्पर्कमा नआए वैकल्पिक उपाय अपनाउँछौँ,” उनले भने।
पोखरामा शव राख्ने ठाउँको समेत अभाव
पोखरा ल्याइएका अधिकांश शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छन्।
उक्त अस्पतालको शवगृहमा ७२ वटा शव राख्न सक्ने क्षमता भए पनि क्षमताभन्दा बढी शव आएपछि नौ वटा शव मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। मणिपालमा सात वयस्क र दुई बालबालिकाको शव राखिएको प्रशासनले जनाएको छ।
शव पहिचानका लागि अस्पतालमा मृतकका आफन्तको भीड लाग्ने गरेको छ। आफन्तलाई सहज बनाउन प्रशासनले अस्पतालमा हेल्पडेस्क सञ्चालनगरेको छ।
हेल्पडेस्कमार्फत मृतकको विवरण उपलब्ध गराउने, शव पहिचानमा सहजीकरण गर्ने तथा पहिचानपछि हस्तान्तरण प्रक्रिया व्यवस्थित गर्ने काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
चार जिल्लाबाट पोखरा ल्याइएका शव
कास्की प्रशासनका अनुसार पोखरामा ल्याइएका १०२ शवमध्ये तनहुँबाट २३, गोरखाबाट ११, नवलपुरबाट ४१ र धादिङबाट २७ वटा शव ल्याइएको थियो।
भोटेकोशीबाट सुरु भएको बाढीले तल्लो तटीय क्षेत्रमा समेत ठूलो मानवीय क्षति पुर्याएपछि विभिन्न जिल्लाबाट फेला परेका शवलाई पोस्टमार्टम तथा पहिचानका लागि पोखरा ल्याइएको हो।
अहिले प्रशासनका लागि शवको वैज्ञानिक पहिचान, आफन्तलाई हस्तान्तरण र पहिचान हुन नसकेका शवको सम्मानपूर्वक व्यवस्थापन मुख्य चुनौती बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्