काठमाडौं । नेपाली सेनाले भारत, चीन र दक्षिण कोरियाका विज्ञहरूको सहयोगमा बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा सोमबार बिहान करिब २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । टनेलमा जमेको पानी, हिलो तथा लेदो हटाएर भित्र प्रवेश गर्ने मार्ग बनाउने काम भइरहेको सेनाले जनाएको छ ।
“दुई वटा एक्स्काभेटर करिब १० मिटर तलसम्म लगेर होल बनाउने, टनेलभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने कार्य भइरहेको छ,” नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनाको टनेलमा पनि विदेशी विज्ञसहितको नेपाली सेनाको टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
चिलिमे हाइड्रोको टनेलमा संयुक्त विदेशी तथा नेपाली उद्धार टोली करिब १०० मिटरसम्म प्रवेश गरेर खोजी गरेको थियो । त्यस क्रममा टनेलको थप भित्री भाग हिलोमाटोले पुरिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ । खोजीका क्रममा दुईवटा शवसमेत संकलन गरिएको छ ।
अपर त्रिशूली–१ आयोजनाको टनेलमा उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरेको थियो । सेनाका अनुसार त्यहाँबाट एक शव संकलन गरिएको छ ।
यस्तै, लाङटाङ आयोजनाको टनेलमा पनि खोज तथा उद्धार टोली प्रवेश गरेको छ । टोलीले सर्च लाइटको प्रयोग गर्दै टनेलभित्र सम्भावित स्थानमा खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।
बाढीका कारण टनेलमा पानी, हिलो, लेदो तथा ढुंगामाटो भरिएकाले उद्धार कार्य जोखिमपूर्ण बनेको छ । विदेशी विज्ञको प्राविधिक सहयोग र उपलब्ध उपकरणको प्रयोग गर्दै उद्धार टोलीले सम्भावित सबै विकल्पमार्फत खोजीलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्