रेसुङ्गा (गुल्मी) । अविरल वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा मंगलबार बिहान पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
सडक विभाग, सम्बन्धित स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। मुख्य सडक मार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै यात्रुहरूलाई समस्या भएको छ।
पहिरो हटाएर सडक तत्काल सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ घुम्तीमा सडक माथिबाट पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो। उक्त पहिरो हटाइएपछि अहिले सो सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्