काठमाडौं । बाढी प्रभावित क्षेत्रमा फेला परेका पहिचान हुन नसकेका शवको पहिचानमा सहयोग गर्न डीएनए विज्ञसहित राहत सामग्री बोकेको चिनियाँ सैन्य विमान नेपाल आइपुगेको छ।
चिनियाँ सेनाको वाई–२० (Y-20) सैन्य यातायात विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। चिनियाँ दूतावासका अनुसार विमानमा बाढी प्रभावित क्षेत्रमा प्रयोग हुने अत्यावश्यक राहत सामग्रीसँगै डीएनए पहिचानसम्बन्धी विज्ञहरू पनि आएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपालका लागि डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, ड्रोन, जलशुद्धीकरण प्रणाली र प्रकाश उपकरण पठाउने जानकारी दिएका थिए। साथै, चिनियाँ डीएनए पहिचान विज्ञहरू प्रभावित क्षेत्रमा पुगेर नेपाली पक्षसँग सहकार्य गर्ने उनले बताएका थिए।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलबार साँझ नेपाल आउने कार्यक्रम थियो। टोलीले शव पहिचान तथा डीएनएसम्बन्धी काममा नेपाली निकायसँग सहकार्य गर्नेछ।
यो चीनबाट आएको दोस्रो खेप
चीनले नेपाललाई उपलब्ध गराएको यो आपत्कालीन राहत सामग्रीको दोस्रो खेप हो।
यसअघि गत आइतबार चिनियाँ जनमुक्ति सेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत ५० टन राहत सामग्री नेपाल ल्याइएको थियो। ती विमानमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्य सामग्री र प्राथमिक उपचारका सामग्रीसहित करिब १३ हजार २०० थान सामग्री ल्याइएको थियो।
यसपटक भने नेपालले विशेष आवश्यकता औँल्याएका डीएनए परीक्षण सामग्री, ड्रोन, जलशुद्धीकरण उपकरण र प्रकाश उपकरणसमेत ल्याइएको छ।
पहिचान नभएका शवको संख्या बढ्दै
भोटेकोशी बाढीपछि विभिन्न नदी तथा प्रभावित क्षेत्रबाट ठूलो संख्यामा शव फेला परिरहेका छन्। धेरै दिन पानी तथा माटोमा रहेका कारण कतिपय शवको प्राकृतिक स्वरूप बिग्रिएकाले आफन्तबाट प्रत्यक्ष पहिचान गर्न कठिन भइरहेको छ।
त्यसकारण डीएनए परीक्षण शव पहिचानको महत्वपूर्ण माध्यम बनेको छ। नेपालले भारतलगायतका मित्रराष्ट्रबाट समेत फरेन्सिक तथा डीएनए विज्ञको सहयोग लिइरहेको छ। भारतका १९ जना डीएनए विश्लेषणमा विशेषज्ञ फरेन्सिक जनशक्ति अगस्ट २९ देखि नेपालमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
पहिचान हुन नसकेका शवलाई तत्काल व्यवस्थापन गर्नुपरे पनि भविष्यमा आफन्त पहिचान गर्न सकियोस् भनेर डीएनए नमुना तथा अन्य फरेन्सिक विवरण सुरक्षित राख्ने प्रक्रिया अपनाइएको छ।
चिनियाँ विज्ञ तथा अत्याधुनिक उपकरणको आगमनसँगै बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचान प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ। चीनले यसअघि नै उद्धार विशेषज्ञ, राहत सामग्री, आर्थिक सहयोग तथा विपद्सम्बन्धी भू–उपग्रह र जलविज्ञानसम्बन्धी तथ्यांकमार्फत नेपाललाई सहयोग गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्