काठमाडौं । भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका जापानी नागरिकको खोजी तथा उद्धारलाई लिएर जापानले नेपालसँग उच्च तहमा चासो राखेको छ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै बाढीपछि सम्पर्कविहीन आफ्ना नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गरेकी हुन्।
नेपाल पर्यटन बोर्डका अनुसार भोटेकोसी बाढीपछि पाँच जना जापानी नागरिक सम्पर्कविहीन छन्।
जापानको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ताकाइचीले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेकी थिइन्। उनले विपद्को यस कठिन घडीमा जापान सरकार नेपालसँगै रहेको सन्देशसमेत दिएकी छन्।
सम्पर्कविहीन नागरिकको अवस्थाबारे चासो
टेलिफोन वार्ताका क्रममा जापानी प्रधानमन्त्रीले विशेषगरी बाढीपछि सम्पर्कविहीन भएका जापानी नागरिकको अवस्थाबारे प्रधानमन्त्री शाहसँग चासो राखेकी थिइन्।
उनले उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्री शाहसमक्ष आग्रह गरेकी जापानको विदेश मन्त्रालयले जनाएको छ।
जवाफमा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबाट भएको क्षति तथा सरकारले अघि बढाइरहेको खोजी, उद्धार र विपद् व्यवस्थापनका प्रयासबारे जापानी प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले विपद्प्रति जापान सरकार तथा जापानी जनताले व्यक्त गरेको सहानुभूति, सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका छन्।
जापानले थप राहत सामग्री पठाउने
यसैबीच, जापानले नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि थप सामग्री पठाउने तयारी अघि बढाएको छ।
प्रधानमन्त्री ताकाइचीले विपद्को समयमा नेपाललाई सहयोग गर्ने जापानको प्रतिबद्धताअनुसार राहत तथा उद्धार सामग्रीको अर्को खेप छिट्टै नेपाल पठाउने तयारी भइरहेको जानकारी प्रधानमन्त्री शाहलाई गराएकी छन्।
नेपालमा ठूलो जनधनको क्षति भएको भोटेकोसी बाढीपछि विभिन्न मुलुकले उद्धार, राहत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्। पछिल्लो समय सम्पर्कविहीन विदेशी नागरिकको खोजी तथा पहिचानका लागि समेत सम्बन्धित देशहरूले नेपालसँग उच्चस्तरीय समन्वय गरिरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्