काठमाडौं । अमेरिकी सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै अर्को चरणको भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र, समुद्री पूर्वाधार, माइन बिछ्याउने क्षमता तथा सञ्चार केन्द्रलाई आक्रमणको निशाना बनाइएको हो।
अमेरिकी आक्रमणको प्रतिवाद गर्दै इरानले बहराइनस्थित शेख इसा एयर बेस तथा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका १३ वटा इरानी ब्यालिस्टिक मिसाइलमध्ये १० वटालाई हावामै नष्ट गरेको जनाएको छ।
यस्तै, कुवेत र बहराइनमा पनि इरानी ड्रोन आक्रमण रोक्न हवाई रक्षा प्रणाली सक्रिय पारिएको बताइएको छ। पछिल्लो सैन्य गतिविधिसँगै मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको बताउनुभएको छ। उहाँले सामरिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गमाथि अमेरिकाको लगभग पूर्ण नियन्त्रण कायम भइसकेको दाबी गर्दै इरानको अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको बताउनुभएको छ।
ट्रम्पले इरानले थप प्रतिशोधात्मक कारबाही जारी राखेमा उसले अहिलेसम्मकै ठूलो र विनाशकारी सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिनुभएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्