बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–४ स्थित चिनारे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । आइतबार बिहान बस्तीभन्दा तलबाट ठूलो पहिरो खसेपछि चिनारेका १० घर जोखिममा परेका हुन् । पहिरोको जोखिममा भूमिराज कँडेल, भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसीराम कँडेल, लिलाबहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल र पुनलाल भुसालका घर रहेका छन् । भूमिराज कँडेलका अनुसार पहिरोले घरको आँगनसम्म जमिन चर्किएको छ । वरपरको जमिन छियाछिया बनेपछि घरमा बस्नसमेत जोखिमपूर्ण भएको उहाँले बताउनुभयो । बस्तीभन्दा तल खसेको पहिरोका कारण घर तथा जमिन चर्किएपछि सिंगो बस्ती नै बग्ने जोखिम बढेको गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँभन्दा तल निर्माण गरिएको सडक व्यवस्थित नहुँदा पहिरोको जोखिम थप बढेको हो । सडक निर्माणका क्रममा पानीको उचित निकास तथा आवश्यक संरक्षणको काम नभएको र वर्षाको पानीले जमिन कमजोर बनाएपछि पहिरो खसेको उहाँको भनाइ छ । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि उपाध्यक्ष घर्तीसहित झिँवाखोला प्रहरीको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ । गाउँपालिकाले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । निरन्तर वर्षा भएमा पहिरोले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको उपाध्यक्ष घर्तीले बताउनुभयो । पहिरो ठूलो भएकाले तत्काल रोकथामको काम गर्न कठिन रहेको उहाँको भनाइ छ । प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यक राहत व्यवस्थापनका लागि गाउँपालिकाले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्