काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा विपद् उद्धारसम्बन्धी गलत तथ्य प्रस्तुत गरेको आरोप लगाएका छन्।
बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा उभिएर उपकरण, प्राविधिक विज्ञता तथा सुरुङ उद्धारसँग सम्बन्धित विषयमा केही तथ्य गलत रूपमा प्रस्तुत गरेको दाबी गरे।
उनका अनुसार प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रस्तुत गरिएका केही तथ्यबारे संसद्भित्रै पनि प्रश्न उठेको थियो।
प्रचण्डले भोटेकोसी बाढीपछि विपद्को सुरुवाती चरणमा सरकारमा देखिएको तत्परता पछिल्ला दिनमा कमजोर हुँदै गएको टिप्पणी गरे। समग्रमा सरकार उद्धार कार्यमा प्रभावकारी हुन नसकेको उनको आरोप थियो।
‘सुरुआती चरणमा देखिएको तत्परता पछिल्ला दिनमा कमजोर हुँदै गयो,’ प्रचण्डले भनेका छन्।
उनले संकटको समयमा प्रधानमन्त्री सबैको साझा अभिभावकको भूमिकामा देखिनुपर्ने भए पनि प्रधानमन्त्री शाहको कार्यशैलीमा सहकार्यको भावना नदेखिएको आरोप लगाए।
प्रचण्डका अनुसार प्रधानमन्त्रीले राजनीतिक दल तथा अन्य पक्षसँग संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान दिएका छैनन्।
उनले प्रधानमन्त्री कसैको अनुहारसमेत नहेरी अघि बढ्ने शैलीमा प्रस्तुत भएको भन्दै आपत्ति जनाए। विपद्को समयमा सबै राजनीतिक दल, राज्यका संयन्त्र तथा सम्बन्धित पक्षलाई विश्वासमा लिएर उद्धार र राहतको काम अघि बढाउनुपर्नेमा उनले जोड दिए।
यसअघि पनि प्रचण्डले भोटेकोसी बाढीको उद्धारमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सेना परिचालन भए पनि व्यापक जनपरिचालन हुन नसकेको टिप्पणी गरेका थिए। उनले केन्द्र र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिँदै आएका छन्।
विपद्को सामना गर्न सरकारको नेतृत्वमा सबै राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय र नागरिक संयन्त्रबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्