काठमाडौं । चीनको कैलाश मानसरोवर यात्रामा गएका करिब ३ हजारमध्ये २ हजार ५०० जना हिल्सा र तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्।
परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विपद्का कारण प्रभावित भएका कैलाश मानसरोवर यात्रुहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहजीकरण भइरहेको जानकारी दिए।
उनका अनुसार कैलाश मानसरोवर जाने तथा फर्किनेमध्ये अधिकांश तीर्थयात्री रहेका छन्। “विपद्को समयमा माउन्ट कैलाश जाँदै गरेका र फर्किँदै गरेका अनुमानित तीन हजार जनामध्ये करिब २५ सय जना मुख्यतः तीर्थयात्री हिल्सा र तातोपानी नाका हुँदै फर्किएका छन्,” प्रवक्ता क्षेत्रीले भने।
बाँकी यात्रुलाई पनि नेपाल फर्काउन आवश्यक समन्वय भइरहेको उनले बताए। केही नेपाली तथा विदेशी नागरिक ल्हासाबाट हवाई मार्ग हुँदै फर्किरहेको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीका अनुसार चीन सरकारले अन्य नेपाल–चीन सीमा नाकाबाट समेत नेपाली तथा विदेशी नागरिकलाई स्वदेश फर्किन सहजीकरण गरिरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी–केरुङ नाका लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि कैलाश मानसरोवर यात्रामा रहेका यात्रुलाई वैकल्पिक सीमा नाकाबाट नेपाल फर्काउने व्यवस्था गरिएको हो।
परराष्ट्र मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली तथा विदेशी नागरिकको उद्धार, आवागमन र घरफिर्तीका लागि सम्बन्धित निकाय तथा चिनियाँ पक्षसँग समन्वय जारी राखेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्