काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल रंगशाला निर्माण गर्ने सम्झौता भएको छ।
बुधबार राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र वडा नम्बर ४ का अध्यक्ष श्रीराम केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार बुढानीलकण्ठ नगरपालिका–४ पासीकोटमा फुटबल रंगशाला निर्माण गरिनेछ।
सम्झौतामा नगरपालिकालाई खेलकुदमैत्री पालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न खेलका पूर्वाधार निर्माण गर्ने विषय समेटिएको छ। त्यसैगरी खेलकुदसम्बन्धी विभिन्न गतिविधिमा दुवै पक्षबीच आपसी सहयोग तथा समन्वय गर्ने सहमति भएको छ।
राखेप र नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण तथा सञ्चालनका क्रममा आवश्यक प्रशासनिक र प्राविधिक विषयमा समेत एकअर्कालाई सहयोग र समर्थन गर्ने सहमति गरेका छन्।
बुढानीलकण्ठ नगरपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न खेलका संरचना निर्माण गर्दै आएको छ। नगरपालिकाको आधिकारिक विवरणमा पनि खेलकुद पूर्वाधार विस्तार तथा खेल गतिविधिलाई प्राथमिकतामा राखिएको देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्