काठमाडौं । भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। सेना, आयोजनाका प्राविधिक तथा विदेशी विज्ञसहितका संयुक्त टोलीले विभिन्न आयोजनाका सुरुङभित्र प्रवेश गरी बेपत्ता तथा प्रभावित व्यक्तिको खोजी गरिरहेका छन्।
नेपाली सेनाका अनुसार रसुवागढी हाइड्रोपावरको सुरुङमा सेना, आयोजना प्रतिनिधि तथा इन्जिनियरसहितको २७५ जनाको टोलीले करिब २७५ मिटरसम्म प्रवेश गरेर खोजी कार्य गरिरहेको छ। सुरुङभित्र उद्धार कार्यलाई तीव्र बनाउन हेभी मेसिनरीसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।
त्यस्तै लाङटाङ हाइड्रोपावरको सुरुङमा विदेशी विज्ञसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले करिब १५० मिटरसम्म प्रवेश गरी खोजीगरिरहेको छ।
चिलिमेमा ध्वनी यन्त्रबाट निरीक्षण
चिलिमे हाइड्रोपावरको सुरुङमा माउन्टेन एसोसिएसन तथा विदेशी विज्ञसहितको संयुक्त टोली करिब १५० मिटरसम्म पुगेको छ।
त्यसपछि सुरुङ बन्द अवस्थामा फेला परेकाले ध्वनी यन्त्रको प्रयोग गरी भित्रको अवस्था निरीक्षण गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ।
अपर त्रिशूली–१को सुरुङको मुख ढुंगाले छेकिएको अवस्थामा फेला परेको छ। संयुक्त खोज तथा उद्धार टोलीले ढुंगा हटाएर सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको सेनाले जनाएको छ।
त्यस्तै हाकुबेसी क्षेत्रमा विदेशी विज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र करिब २६० मिटरसम्म प्रवेश गरेर खोजी गर्दा हालसम्म कुनै व्यक्ति वा शव फेला नपरेको सेनाले जनाएको छ।
सुरुङभित्र २६ मिटर पानी
सेनाका अनुसार मुख्य सुरुङको एक्सेस–१ बाट १५० मिटर र एक्सेस–२ बाट २० मिटरभित्र पुगेपछि करिब २६ मिटर पानी जमेको अवस्था फेला परेको छ।
पानी तथा अवरोधका कारण सुरुङको थप भागमा पुगेर खोजी गर्न चुनौती भइरहेको सेनाले जनाएको छ।
त्रिशूली–३ एमा ब्लास्टिङमार्फत अवरोध हटाउँदै
त्रिशूली–३ एमा ९३ जनाको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
त्यहाँ चारवटा एक्स्काभेटर र बबक्याटको प्रयोग गरी माटो पन्छाउने काम भइरहेको छ। ब्लास्टिङपछि सुरुङ तथा पहुँच क्षेत्रमा लेदो भेटिएकाले त्यसलाई हटाउने काम भइरहेको सेनाले जनाएको छ।
लेदो हटाएपछि पुनः चट्टान ब्लास्टिङ गरेर थप क्षेत्रमा प्रवेश गर्ने प्रयास भइरहेको छ।
त्रिशूली–३ बीमा संरचना पहिचान गर्दै खोजी
त्रिशूली–३ बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्राविधिकसहितको टोली परिचालन गरिएको छ।
टोलीले आयोजनाको कार्यालय तथा आवासीय संरचनाको पहिचान गर्दै सम्भावित स्थानमा खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा पहुँचमार्गमा ढुंगा, माटो, लेदो र पानी भरिएका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। नेपाली सेना, आयोजनाका प्राविधिक र विदेशी विज्ञसहितको संयुक्त टोलीले उपलब्ध प्रविधि तथा हेभी उपकरण प्रयोग गर्दै सुरुङभित्र खोजीलाई निरन्तरता दिइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्