काठमाडौँ, भदौ १८ गते । भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका साना नदीमा जलसतह उल्लेख्य बढ्न सक्ने सम्भावना छ। उहाँका अनुसार ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत र डोल्पाका आसपासका साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यस्तै रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुरका आसपासका साना नदीमा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले जोखिमयुक्त नदी तथा खोलाको आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्