काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपाल चार अंक जोडेर समूहको शीर्षस्थानमा पुगेको छ। पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालका ओपनर अर्जुन कुमाल ४५ रनमा अविजित रहे। उनले ६८ बलमा चार चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरी १२ रनमा नटआउट रहे। उनले ११ बलमा दुई चौका हाने। इशान पाण्डेले २० र रोहित पौडेलले १० रन बनाए। अर्का ओपनर आसिफ शेख शून्य रनमै आउट भए भने देव खनाल दुई रनमा क्याच आउट भए। यसअघि मलेसियाको वांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो। मलेसियालाई कम स्कोरमा रोक्ने क्रममा करण केसीले चार विकेट लिए। उनले ७.३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिए। ललित राजवंशीले ६ ओभरमा एक मेडनसहित १९ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए। मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ३० रन बनाए। अकिल वाहिदले २४, विरनदीप सिंहले १४ र मुहमद स्हादातले १३ रन बनाए। समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्