ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीको कहर : रसुवाका चार स्वास्थ्य संस्था ध्वस्त, स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ८ : १५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी–त्रिशूली बाढीले जिल्लाका चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । बाढीका कारण स्वास्थ्य संस्था नै बगाएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा उपचाररत बिरामीको अवस्थासमेत यकिन हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार टिमुरे हेल्थ पोस्ट, प्रवेश विन्दुमा विदेशबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य संस्था, स्याफ्रुबेँसी स्वास्थ्य चौकी र मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन

मन्त्रालयका सूचना अधिकारी डा. समिर अधिकारीका अनुसार पूर्ण क्षतिग्रस्त स्वास्थ्य संस्थामा कार्यरत अधिकांश स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन छन् ।

“अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सम्पर्कबाहिर हुनुहुन्छ । केही काठमाडौं वा अन्यत्र भएकाहरू सम्पर्कमा हुनुहुन्छ,” उनले भने ।

स्वास्थ्य मन्त्रालयले प्रभावित स्वास्थ्यकर्मीको यकिन विवरण संकलन गरिरहेको छ । स्वास्थ्य संस्था नै बाढीले बगाएकाले त्यहाँ उपचाररत बिरामीको अवस्थासमेत यकिन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

प्रभावित जिल्लामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको अवस्थासमेत संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।

धादिङका स्वास्थ्य संस्थामा पनि आंशिक क्षति

भोटेकोसी–त्रिशूली बाढीको प्रभाव रसुवामा मात्र सीमित छैन । मन्त्रालयका अनुसार बैरेनी अस्पताल गल्छी, चरौदी आयुर्वेद स्वास्थ्य केन्द्र बेनीघाट र बैरेनी आयुर्वेद औषधालय धादिङलगायत स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, काठमाडौंसँग सडक सम्पर्क विच्छेद भएका कारण दुईवटा अस्पतालसमेत प्रभावित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

अस्थायी सेल्टरबाट स्वास्थ्य सेवा

स्वास्थ्य संस्था नै ध्वस्त भएपछि मन्त्रालयले प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट स्वास्थ्य सेवा सञ्चालन थालेको छ ।

“प्रभावित क्षेत्रमा अस्थायी रूपमा स्वास्थ्य सेवा सञ्चालन सुरु गरिसकेका छौँ । अस्थायी सेल्टरहरूमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ,” डा. अधिकारीले भने ।

दीर्घकालीन रूपमा स्वास्थ्य संस्था पुनर्निर्माण तथा सञ्चालनका लागि योजना बनाउने कामसमेत अघि बढाइएको छ ।

टिमुरे र स्याफ्रुबेँसीलगायत बस्तीको पुनःस्थापना तथा पुनर्निर्माण हुने भएकाले नयाँ स्वास्थ्य संस्था कहाँ र कसरी निर्माण गर्ने भन्ने निर्णय बस्ती पुनःव्यवस्थापनसँगै गरिने मन्त्रालयको भनाइ छ ।

४७ मेडिकल टिम परिचालन, अहिले १८ टोली सक्रिय

विपद्पछि प्रभावित क्षेत्रमा देशका विभिन्न स्थानबाट चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४७ वटा इमर्जेन्सी मेडिकल टिम परिचालन गरिएका थिए । ती टिममा गरी २२२ स्वास्थ्यकर्मी सहभागी थिए ।

तत्काल उपचार तथा उद्धारसम्बन्धी काम सकेर धेरै टोली फर्किसकेका छन् । अहिले १८ वटा इमर्जेन्सी मेडिकल टिम प्रभावित क्षेत्रमा सक्रिय छन् ।

देशका अन्य क्षेत्रमा नियमित स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर समेत जनशक्ति व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा धरानदेखि पश्चिममा डडेल्धुरा र धनगढीसम्मका स्वास्थ्य संस्थाबाट आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अधिकारीले बताए ।

काठमाडौंका विभिन्न अस्पतालबाट समेत स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाइएको छ भने राजधानीका अस्पताललाई आकस्मिक अवस्थामा तत्काल सेवा दिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

८८ स्वास्थ्यकर्मी मनोसामाजिक सहयोगमा

बाढीमा आफन्त गुमाएका, बेपत्ता भएका तथा घर–सम्पत्ति गुमाएका नागरिकमा मानसिक तथा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले मन्त्रालयले यसलाई पनि प्राथमिकतामा राखेको छ ।

मनोचिकित्सक, साइकोलोजिस्ट तथा मनोसामाजिक परामर्शदातासहित ८८ जना स्वास्थ्यकर्मी फिल्डमा परिचालित छन् ।

उनीहरूले प्रभावित बस्ती तथा अस्थायी सेल्टरमा पुगेर मनोसामाजिक परामर्श र आवश्यक सहयोग प्रदान गरिरहेका छन् ।

मन्त्रालयका अनुसार बाढीका क्रममा आफन्त बगेको देखेका, घरबार गुमाएका वा ज्यान जोगाएर सेल्टरमा पुगेका नागरिकमा त्रास, शोक र मानसिक तनाव देखिन सक्ने भएकाले उपचारसँगै मनोसामाजिक सहयोगलाई प्राथमिकता दिइएको हो ।

स्वास्थ्य सामग्री आपूर्ति तीव्र

प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सामग्रीको पहिचान गरी देश तथा विदेशबाट प्राप्त सामग्री परिचालन भइरहेको मन्त्रालयले जनाएको छ ।

घाइतेको उपचार, अस्थायी सेल्टरमा आवश्यक स्वास्थ्य सामग्री तथा रोग निगरानी र उपचारका लागि आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइँदै छ ।

स्वास्थ्य सामग्री संकलन तथा वितरणका लागि मन्त्रालयअन्तर्गत छुट्टै महाशाखाले काम गरिरहेको छ ।

हालसम्म विदेशी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भने प्रभावित क्षेत्रमा परिचालन गरिएको छैन । देशभित्रै उपलब्ध जनशक्तिलाई परिचालन गरेर स्वास्थ्य सेवा व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

रक्त अभाव छैन, वेबपोर्टलबाट विवरण सार्वजनिक

बाढी प्रभावितको उपचारमा हालसम्म रगतको अभाव नदेखिएको मन्त्रालयले जनाएको छ ।

रक्तसञ्चार सेवाका लागि आवश्यक समन्वय तथा व्यवस्थापन भइरहेको छ । उपलब्ध रगतको अवस्था सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयले वेबपोर्टल सञ्चालनमा ल्याएको छ ।

वेबपोर्टलमार्फत उपलब्ध रगतको विवरण सार्वजनिक गर्ने, आवश्यकताअनुसार समन्वय गर्ने तथा रक्तदानका लागि आह्वान गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

अबको चुनौती : महामारी रोकथाम

बाढीबाट क्षतिग्रस्त स्वास्थ्य संरचना पुनर्निर्माणसँगै प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन नदिनु मन्त्रालयको अर्को प्रमुख चुनौती बनेको छ ।

बाढीपछि विस्थापित नागरिक अस्थायी सेल्टरमा बसिरहेका छन् । यस्तो अवस्थामा सरसफाइ, खानेपानी, पोषण, नियमित औषधि तथा रोग निगरानीलाई प्रभावकारी बनाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

त्यसैले तत्काल घाइतेको उपचार र राहतसँगै नियमित स्वास्थ्य सेवा पुनःस्थापना, मनोसामाजिक सहयोग तथा सम्भावित रोगको संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

कैलाशमा २० वर्षमुनिका १११ किशोरी सुत्केरी, ७२ जनाको घरमै प्रसूति

बरेङ स्वास्थ्य शाखाको समिक्षा

कैलाशमा बालविवाहको असर : एक वर्षमा १११ किशोरी सुत्केरी

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

भोटेकोसी बाढीका घाइतेको काठमाडौंका अस्पतालमा उपचार जारी, ट्रमा सेन्टरबाट ३४ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu