काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा बुधबार राति भएको आगलागीको घटनाबारे विभिन्न कोणबाट छानबिन सुरु भएको छ ।
नयाँ भवनको भुइँतलास्थित हलमा भएको आगलागीमा कागजात तथा विभिन्न मुद्दाका मिसिल जलेका छन् । घटनाबारे नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र सर्वोच्च अदालत प्रशासनले आ–आफ्नो तर्फबाट अनुसन्धान थालेका हुन् ।
फरेन्सिक टोलीले पनि गर्यो घटनास्थल निरीक्षण
आगलागीको सूचना पाएपछि प्रहरी टोली सर्वोच्च अदालत परिसरमा पुगेको थियो । प्रहरीले भुइँतलाको हलमा घटनास्थल मुचुल्का उठाउनुका साथै घटनासँग सम्बन्धित विवरण संकलन गरेको छ ।
फरेन्सिक विज्ञ टोलीले समेत आगलागी भएको स्थानमा पुगेर आवश्यक प्रमाण तथा विवरण संकलन गरेको छ ।
आगलागीको कारणबारे भने अहिल्यै निष्कर्षमा पुग्न नसकिने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार घटना विद्युत् सर्टका कारण भएको हो वा कुनै अवाञ्छित गतिविधिको परिणाम हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
“अवाञ्छित गतिविधिका कारण हो वा विद्युत् सर्ट भएर घटना भएको भन्ने विषयमा छानबिनपछि तथ्य आउनेछ,” कोइरालाले भने ।
उनका अनुसार आगलागी भएको स्थाननजिकैको पावर सर्किटसमेत जलेको देखिएकाले विद्युत् सर्टको सम्भावनातर्फ पनि अनुसन्धान भइरहेको छ ।
“नजिकै पावर सर्किट पनि जलेका कारण त्यही नै हो कि जस्तो पनि देखिन्छ । के कसरी भएको हो भनेर विभिन्न कोणबाट अनुसन्धान हुँदै छ,” उनले भने ।
सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रण
आगलागी भएपछि सुरक्षाकर्मीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको थियो ।
तर, आगलागीका कारण भुइँतलामा रहेका केही मिसिल तथा कागजात जलेर क्षति भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्