चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यका बाहिरका उद्योगमा ग्यास ‘बोटलिङ’ गरेर सिलिण्डर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति बढाउन थालेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिण्डर उपत्यकाबाट बाहिरका उद्योगसम्म पुर्याउने र ग्यास भरेर पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइरहेका छन्।
सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यका बाहिरका उद्योगमा खाली सिलिण्डरको अभाव रहेकाले काठमाडौंमा खाली भएका सिलिण्डर ट्रकमार्फत सम्बन्धित उद्योगसम्म पुर्याउनुपर्ने अवस्था छ। त्यसपछि त्यही ट्रकबाट भरिएका सिलिण्डर काठमाडौं ल्याइनेछ।
चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा नेपाल ग्यासका सिलिण्डरमा ‘बोटलिङ’ भइरहेको छ। सिलिण्डर अभावका कारण मागअनुसार ग्यास भर्न नसकिए पनि केही दिनभित्र दैनिक ८ देखि १० हजार सिलिण्डर काठमाडौं पठाउने तयारी भइरहेको भण्डारीले बताए।
अन्य उद्योगले पनि उपत्यकाका खाली सिलिण्डर बाहिरका उद्योगमा लगेर ग्यास भर्न थालेका छन्। बाबा ग्यासले श्री ग्यासका सिलिण्डरमा ग्यास भरेर पठाएको छ। गैंडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिण्डर भर्ने काम भइरहेको छ।
त्यस्तै, बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ। अहिले माग बढेकाले दैनिक एक लाख सिलिण्डरसम्म खपत हुने अवस्था रहेको उनले बताए। उद्योग र ढुवानीको वैकल्पिक व्यवस्था मिलाइएकाले केही दिनमै आपूर्ति सहज हुने उनको भनाइ छ।
चन्दले उपभोक्तालाई आवश्यक मात्रामा सिलिण्डर साट्न र अनावश्यक मौज्दात नगर्न आग्रह गरेका छन्। उनका अनुसार एउटा ग्यास बोक्ने बुलेटमा करिब ४५० सिलिण्डर बराबरको ग्यास आउँछ। ठूलो ट्रकले भरिएका करिब ५०० र खाली करिब ६०० सिलिण्डर बोक्न सक्छ।
नेपालका ५८ ग्यास उद्योगमध्ये उत्पादनको करिब ४० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा खपत हुने उद्योगीहरूको भनाइ छ। राजधानी आसपासका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिक टन ग्यास नेपाल आएको र आपूर्ति नियमित रहेकाले दीर्घकालीन अभाव नहुने उद्योगीहरूले बताएका छन्।
साल्ट ट्रेडिङले पनि वैकल्पिक बाटोबाट ग्यास ल्याउँदै
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेशनले पनि निजी ग्यास कम्पनीसँग सहकार्य गरेर आफ्ना ‘एसटीसी सिलिण्डर’मा ग्यास भर्न थालेको छ।
धादिङको जुगेखोलास्थित एलपीजी प्लान्टमा बुलेट पुग्न नसकेपछि कर्पोरेशनले सहज स्थानमा रहेका मनोज, बाबा लगायतका निजी ग्यास उद्योगसँग सहकार्य गरी खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
कर्पोरेशनका अनुसार नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग सम्झौता गरेका कुल ३ हजार २५ ग्यास बुलेटमध्ये करिब २ प्रतिशत अर्थात् ५३ वटा बुलेटको मात्र कोटा कर्पोरेशनले पाउने गरेको छ। कर्पोरेशनले मासिक करिब ५५ हजारदेखि ६० हजार एसटीसी सिलिण्डर खपत गर्दै आएको छ।
निजी ग्यास उद्योगमा देखिएको आपूर्ति समस्या र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपभोक्तालाई समस्या नहोस् भनेर साल्ट ट्रेडिङले कुपन प्रणालीमार्फत ग्यास वितरणलाई निरन्तरता दिएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्