काठमाडौं । भोटेकोसी बाढी आएको ११ दिनपछि शनिबार खोज तथा उद्धारमा खटिएका टोलीले दुई जनालाई जीवितै उद्धार गरेका छन्। बाढीले सयौँको ज्यान लिएको र हजारौँ मानिस सम्पर्कविहीन रहेको अवस्थामा भएको यी दुई उद्धारले विपद्को त्रासबीच आशाको सञ्चार गराएको छ।
शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित बाढीले पुरिएको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घरभित्र खोजी गर्ने क्रममा श्रेष्ठलाई फेला पारेको थियो।
बाढीले चारतले घर पुरिएको थियो। उद्धार टोली बाढी प्रभावित घरभित्र रहेका सामान तथा भग्नावशेष हटाउँदै खोजी गरिरहेको थियो। त्यही क्रममा घरभित्रबाट आवाज सुनिएको थियो।
सशस्त्र प्रहरी बल १९ नं. गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र राउतका अनुसार आवाज सुनेपछि उद्धार टोलीले थप सावधानीपूर्वक खोजी अघि बढाएको थियो।
“घरभित्रबाट आवाज सुनिएपछि उद्धार टोलीले खोजी गर्यो। हिलोमा गाडिएको अवस्थामा उहाँलाई फेला पार्यौँ,” राउतले बताए।
चन्द्रिका घरको चौथो तलामा फेला परेकी थिइन्। उद्धार गर्दा उनी अचेत अवस्थामा थिइन्। उद्धारपछि होसमा आएकी उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
सुरुङभित्रबाट अर्को जीवन
शनिबार नै अर्को जीवित उद्धार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट भयो।
नेपाली सेना र दक्षिण कोरियाली उद्धार तथा विपद् विज्ञको टोलीले आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै बाहिर निकालेको हो।
भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि सुरुङभित्र फसेका उनको ११औँ दिनमा उद्धार भएको हो।
उद्धारपछि उनलाई उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको नेपाली सेनाले जनाएको छ। उनको अवस्था सकुशल रहेको बताइएको छ।
सुरुङभित्र पानी र गेग्रान थुप्रिएका कारण उद्धार चुनौतीपूर्ण बनेको थियो। उद्धार टोलीले जोखिमबीच सुरुङभित्र प्रवेश गरेर उनलाई बाहिर निकालेको हो।
अघिल्लो दिन पनि दुई जीवित उद्धार
यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई नेपाली नागरिकको जीवित उद्धार गरिएको थियो।
मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई बाढी आएको १०औँ दिनमा सुरुङबाट बाहिर निकालिएको थियो। दुवै जनाको उपचार भइरहेको छ।
लगातार दुई दिनमा चार जनाको जीवित उद्धार भएपछि अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजीमा आशा बढेको छ।
खोजीमा अझै ठूलो चुनौती
भोटेकोसी बाढीले नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। कतिपय घर तथा संरचना बाढी र हिलोले पुरिएका छन् भने जलविद्युत् आयोजनाका सुरुङमा समेत ठूलो मात्रामा पानी र गेग्रान पसेको छ।
यही कारण हराइरहेका मानिसको खोजी तथा उद्धार अझै चुनौतीपूर्ण छ।
शनिबार पुरिएको घरबाट चन्द्रिका श्रेष्ठको जीवित उद्धार भएपछि सुरुङमा मात्र नभई बाढीले पुरिएका घर तथा अन्य संरचनामा पनि खोजीलाई थप तीव्र बनाउनुपर्ने देखिएको छ।
बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको र चार हजार ८८७ जना सम्पर्कविहीन रहेको विवरण छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी छ।
११ दिन बितिसक्दा पनि दुई जनाको जीवित उद्धारले एउटा सन्देश भने दिएको छ—विपद्को समय लम्बिँदै गए पनि खोजी र उद्धारको प्रयाससँगै आशा समाप्त हुँदैन।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्