कञ्चनपुर — भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका कञ्चनपुरका नरेश जोशीको शनिबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
भीमदत्त नगरपालिका–१३, बडैपुरका नरेश बाढी आएको दिनदेखि सम्पर्कविहीन थिए। उनी रसुवाको टिमुरे भन्सार कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।
नरेशको अवस्था पत्ता लगाउन आफन्तजनले टिमुरेदेखि नुवाकोटसम्म पुगेर खोजी गरेका थिए। तर, लामो समयसम्म कुनै अत्तोपत्तो नलागेपछि जीवित भेटिने आशा त्याग्दै परिवारले हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्।
शनिबार महाकाली नदीस्थित आर्यघाटमा नरेशका २० वर्षीय छोरा दीपेशले कुशको शवमा दागबत्ती दिएका थिए।
नरेशको वास्तविक अवस्था अझै अज्ञात रहे पनि परिवारले अन्तिम संस्कार गर्न बाध्य भएको हो। बाढी–पहिरोपछि बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि यस्तो अवस्था थप पीडादायी बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्