काठमाडौं, २२ भदौ । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्नु भएको छ । आइतबार साँझ करिब ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहँलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमान स्थल पुग्नु भएको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउनुभएको हो । उहाको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन९काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।
वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्