ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवागढी भन्सार नाका र आसपासका भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएपछि नेपाल–चीन व्यापारको प्रमुख मार्ग अवरुद्ध भएको छ। उता, सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि लगातार पहिरो र बाढीको जोखिमका कारण बन्द अवस्थामा छ।

नेपाल–चीन व्यापारका दुई प्रमुख नाका एकैपटक सञ्चालनबाहिर पुगेपछि मुस्ताङस्थित कोरला नाका अहिले नेपालको उत्तरी छिमेकीसँगको व्यापारका लागि मुख्य विकल्प बनेको छ।

रसुवागढी नाकामा भन्सार कार्यालयसहित ४० किलोमिटरभन्दा बढी सडक बाढीले बगाएको छ। नाकामा रहेका विभिन्न संरचना पनि क्षतिग्रस्त भएका छन् भने चीनतर्फ पनि सडक तथा पूर्वाधारमा क्षति पुगेको बताइएको छ। यस कारण रसुवागढी नाका तत्काल सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ।

उता, २०७२ सालको भूकम्पयता पटक–पटक अवरुद्ध हुँदै आएको तातोपानी नाका पनि अहिले सञ्चालनमा छैन। गत असार ३१ गतेको पहिरोले अवरुद्ध भएको नाका केही समय सञ्चालनमा आए पनि पुनः पहिरोका कारण बन्द भएको हो।

तीन नाकाबाट १ खर्बभन्दा बढी व्यापार

नेपाल–चीन व्यापारका लागि मुख्य रूपमा रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्रयोग हुँदै आएका छन्। तीमध्ये रसुवागढी र तातोपानी लामो समयदेखि प्रमुख व्यापारिक मार्गका रूपमा रहेका थिए।

गत आर्थिक वर्ष २०८२/८३ मा यी तीन नाकामार्फत नेपाल–चीनबीच कुल १ खर्ब ८ अर्ब ७३ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो।

यस अवधिमा १ खर्ब ७ अर्ब ६३ करोड ११ लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १ अर्ब १० करोड १ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

तातोपानी नाकाबाट ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार रुपैयाँ, रसुवागढीबाट ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार रुपैयाँ र मुस्ताङको कोरला नाकाबाट १४ अर्ब ४० करोड ६७ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

निर्याततर्फ रसुवा नाकाबाट ८९ करोड ४६ लाख १ हजार रुपैयाँ र मुस्ताङ नाकाबाट २० करोड ५५ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु चीन पठाइएको थियो। तातोपानी नाकाबाट भने उक्त अवधिमा कुनै वस्तु निर्यात नभएको तथ्यांकले देखाउँछ।

अब कोरला नाकामै भर

गत वर्ष असारमा आएको बाढीले रसुवागढीको पुल बगाएपछि र तातोपानी क्षेत्रमा पनि बाढीपहिरोका कारण अवरोध उत्पन्न भएपछि कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको थियो।

अहिले रसुवागढी र तातोपानी दुवै नाका बन्द भएपछि चीनसँगको व्यापारलाई निरन्तरता दिन कोरला नाकामै निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ।

भन्सार विभागले पनि व्यवसायीलाई सम्भव भएसम्म कोरला नाका प्रयोग गर्न आग्रह गरेको छ।

भन्सार विभागका सूचना अधिकारी बर्तौलाका अनुसार कोरला नाका सञ्चालनमा रहेकाले तत्कालका लागि नेपाल–चीन व्यापारलाई निरन्तरता दिन यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ।

उनले भने, “कोरला नाका चलिरहेको छ, तर त्यहाँ अक्सिजनको मात्रा कम भएकाले कर्मचारीहरू लामो समय बस्न सक्दैनन्। आवश्यक पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न सके यो नाका प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ।”

उनका अनुसार कोरला क्षेत्र रसुवागढीको तुलनामा फराकिलो भएकाले धेरै सवारीसाधनको आवागमन र पार्किङ सहज छ। साथै, बाढीपहिरोको जोखिम पनि तुलनात्मक रूपमा कम रहेको उनको भनाइ छ।

“यहाँ धेरै गाडी अटाउन सक्छन् र बाढीपहिरोको जोखिम पनि कम छ। त्यसकारण अहिलेको अवस्थामा कोरला नै मुख्य विकल्प बनेको छ,” उनले भने।

नेचुङबाटै हुँदैछ भन्सार जाँचपास

मुस्ताङ भन्सार कार्यालयले व्यापारिक गतिविधिको चाप बढे पनि तत्काल उपलब्ध संरचनाबाट सेवा सञ्चालन गर्न सकिने जनाएको छ।

हाल कोरला नाकाबाट करिब १० देखि १२ किलोमिटर तल रहेको नेचुङस्थित संरचनाबाट भन्सार जाँचपास हुँदै आएको छ। त्यहाँ भन्सार कार्यालयसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट र नेपाल प्रहरीको युनिट पनि रहेको छ।

मुस्ताङ भन्सार प्रमुख विदुर चुडालका अनुसार कोरला नाकामा अत्यधिक उचाइका कारण अक्सिजनको समस्या भएकाले तत्कालै त्यही स्थानमा सुविधासम्पन्न कार्यालय सञ्चालन गर्न कठिन छ।

“गाडी आयो भने जाँचपास गर्नैपर्छ। अहिलेको अवस्थामा हामीसँग अर्को विकल्प छैन,” उनले भने।

व्यापारको चाप बढेमा आवश्यकताअनुसार जनशक्ति र पूर्वाधार थप गर्न भन्सार विभाग तथा सम्बन्धित मन्त्रालयसँग समन्वय गरिने उनले बताए।

मुस्ताङ भन्सार कार्यालयमा हाल करिब १० देखि ११ जना कर्मचारी कार्यरत छन्। गत आर्थिक वर्षमा कार्यालयले करिब ७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आर्थिक वर्षमा करिब ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।

केरुङमा रोकिए १७० नेपाली मालवाहक गाडी

रसुवागढी र तातोपानी नाका लामो समयसम्म बन्द रहने सम्भावना बढेसँगै चीनबाट दसैँ–तिहार र जाडोयामलाई लक्षित गरी ल्याइएका सामान केरुङमै रोकिएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार केरुङ क्षेत्रमा करिब १७० वटा नेपाली मालवाहक गाडी सामान लोड गरेर रोकिएका छन्।

ती गाडीमा फलफूल, लत्ताकपडा, जुत्ता–चप्पल, कस्मेटिक्सलगायत दसैँ–तिहार तथा जाडोयामका लागि लक्षित सामान रहेको उनले बताए।

“अहिले केरुङमा करिब १७० वटा गाडी सामान लोड गरेर बसेका छन्। अब ती गाडीलाई अन्य मार्गतर्फ पठाउनुबाहेक अर्को विकल्प छैन,” कार्कीले भने।

उनका अनुसार रसुवागढी नाका पाँच–छ महिनासम्म सञ्चालनमा आउन नसके व्यवसायीले ठूलो समस्या भोग्नुपर्नेछ।

रसुवागढी र तातोपानी दुवै नाका लामो समय बन्द रहने अवस्था आए चीनबाट सामान आयात गर्न कोरला नाका प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन। तर, कोरला हुँदै सामान ल्याउँदा दूरी लामो हुने र ढुवानी लागत बढ्ने व्यवसायीको चिन्ता छ।

बेनी–जोमसोम हुँदै कोरला पुग्ने सडक ठूला कन्टेनर तथा भारी मालवाहक सवारीका लागि पूर्ण रूपमा सहज नभएकाले व्यापारको लागत अझ बढ्न सक्ने व्यवसायीहरूले बताएका छन्।

रसुवागढी र तातोपानीजस्ता प्रमुख व्यापारिक नाका एकैपटक अवरुद्ध भएपछि कोरला नाकाको रणनीतिक महत्व झनै बढेको छ। तर यसलाई दीर्घकालीन र प्रभावकारी व्यापारिक मार्गका रूपमा विकास गर्न उच्च हिमाली भूगोलअनुकूल सडक, भन्सार पूर्वाधार, अक्सिजन सुविधा, जनशक्ति तथा आधुनिक प्रविधिमा थप लगानी आवश्यक देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu