ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका आफन्तहरूको पीडा चितवनसम्म फैलिएको छ। बाढीमा परेका आफ्ना परिवारजनको खोजीमा आफन्तहरू भरतपुरस्थित शव पहिचान केन्द्र र अस्पताल धाइरहेका छन्। कसैको हातमा प्रियजनको तस्वीर छ भने कसैको आँखामा अझै पनि सकुशल भेटिने आशा।

बिहीबार बिहानदेखि भरतपुरस्थित शव पहिचान केन्द्र बाहिर बेपत्ता व्यक्तिका आफन्तहरूको भीड देखिएको छ। एम्बुलेन्सको साइरन सुनिनासाथ उनीहरू आशा र त्रासबीच त्यतैतर्फ दौडिन्छन्। एम्बुलेन्सबाट शव निकालिएपछि हातमा बोकेका तस्वीरसँग अनुहार मिलाउने पीडादायी दृश्य देखिन्छ।

‘विदेशमा भएको भाइलाई के भनौँ ?’

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि आफ्ना १४ जना आफन्त सम्पर्कविहीन भएपछि चितवनको टाँडीमा बस्दै आएकी यमन बानु शव पहिचान केन्द्रमा आफन्तको खोजीमा पुगेकी छन्।

मोबाइलमा आफन्तहरूको तस्वीर देखाउँदै उनले भनिन्, “विदेशमा भएको भाइलाई के भनौँ ? घर र माइतीतिरका सबैलाई बाढीले बगाएर लग्यो।”

बिहानैदेखि अस्पताल र शवगृह धाउँदा पनि आफन्तको कुनै खबर नपाएपछि उनी अन्तिम आशाका रूपमा शव पहिचान केन्द्र पुगेकी हुन्। मोबाइलको स्क्रिनमा मुस्कुराइरहेका आफन्तको तस्वीर र शव पहिचान केन्द्रको यथार्थबीच उनी अझै सकुशल भेटिने आशामा बसिरहेकी छन्।

त्यस्तै, गोरखाको पालुङटारबाट गोसाइँकुण्ड गएका ३९ जनामध्ये आफ्नी दिदीको खोजीमा आएका हरि बानियाँ पनि भरतपुरमा प्रतीक्षारत छन्। एम्बुलेन्सको साइरन सुन्नासाथ उनी दौडिएर पुग्छन्, तर अहिलेसम्म दिदीको कुनै अत्तोपत्तो लागेको छैन।

आशा र त्रासबीच आफन्तको खोजी

चन्द्र लामाको पीडा पनि फरक छैन। उनका भाइले बाढी आउनुअघि बिहान फोन गरेर आफू सीमावर्ती क्षेत्रमा पुगेको जानकारी दिएका थिए। त्यसपछि उनीसँग सम्पर्क हुन सकेन।

भाइको खोजीका लागि चन्द्र भरतपुर पुगेका हुन्। बाढीले बगाएर ल्याएका शवमध्ये कतै आफ्नै भाइ त छैनन् भन्ने आशंकाले उनलाई शव पहिचान केन्द्रसम्म पुर्‍याएको छ।

रसुवाबाट बाढीले बगाएर ल्याइएका शवको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा अस्थायी शव पहिचान तथा संरक्षण केन्द्र स्थापना गरिएको छ। केन्द्रमा करिब २५० वटासम्म शव व्यवस्थापन गर्न सकिने व्यवस्था मिलाइएको छ।

भरतपुर तथा अन्य अस्पतालका शवगृहमा सीमित क्षमता भएपछि थप शवको व्यवस्थापन र पहिचान सहज बनाउन छुट्टै केन्द्र स्थापना गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शव संरक्षणका लागि आवश्यक तापक्रम व्यवस्थापन गर्नुका साथै बाढीपीडितका आफन्तलाई खाना र बसोबासको व्यवस्था पनि मिलाइएको छ।

शव पहिचानलाई सहज बनाउन विशेष व्यवस्था

शव खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार संकलन गरिएका शवलाई सुरक्षित राख्दै पहिचान प्रक्रिया सहज बनाउन विशेष व्यवस्था गरिएको छ।

उनका अनुसार शवलाई सफा गरी आवश्यक संरक्षण गरिनेछ भने पहिचानका लागि तस्बिर खिचेर प्रदर्शन गर्ने तयारी पनि गरिएको छ। आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन छुट्टै सम्पर्क कक्षसमेत सञ्चालन गर्ने तयारी गरिएको छ।

अहिलेसम्म चितवनमा १३० भन्दा बढी शव संकलन भइसकेको जनाइएको छ। शव पहिचानका लागि आफन्तहरूलाई प्रत्येक शव प्रत्यक्ष हेर्नुपर्ने अवस्थालाई व्यवस्थित बनाउने प्रयास भइरहेको भए पनि यो प्रक्रिया पीडित परिवारका लागि अत्यन्तै कठिन बनेको छ।

एम्बुलेन्सको साइरनसँगै बढ्छ बेचैनी

शव व्यवस्थापनमा एम्बुलेन्स चालकहरू पनि निरन्तर खटिएका छन्। नेपाल एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछानेका अनुसार शव ओसारपसारका लागि २५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्।

शवलाई निःशुल्क रूपमा अस्पताल तथा शव पहिचान केन्द्रसम्म ल्याउने व्यवस्था मिलाइएको छ।

दिनभर एम्बुलेन्सहरू आइरहेका छन्। प्रत्येक पटक साइरन बज्दा आफन्तहरूको नजर सडकतर्फ मोडिन्छ। कोही आफ्ना प्रियजन जीवितै भेटिने आशामा छन् भने कोही कम्तीमा अन्तिम पटक अनुहार हेर्न पाए हुन्थ्यो भन्ने पीडादायी प्रतीक्षामा छन्।

रसुवाको विनाशकारी बाढीले घर, सम्पत्ति र पूर्वाधार मात्र बगाएको छैन, सयौँ परिवारको भविष्य र खुसी पनि बगाएको छ। अहिले भरतपुरको शव पहिचान केन्द्रमा जम्मा भएका आफन्तहरूका लागि समय पनि पीडाजस्तै बनेको छ—घडीको प्रत्येक टिक–टिकसँग उनीहरूको बेचैनी बढिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu