काठमाडौं । लाङटाङ हिमालको उत्तरी क्षेत्रमा गएको विशाल हिमस्खलनपछि ल्हेन्दे खोलाको माथिल्लो भागमा प्राकृतिक रूपमा नयाँ ताल बनेको खुलेको छ। चीनको तिब्बत क्षेत्रमा बनेको उक्त तालमा पानीको मात्रा बढ्दै गएपछि नेपालका तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
चिनियाँ सञ्चारमाध्यम तथा भू–उपग्रह तस्बिरको विश्लेषण गर्ने विज्ञहरूका अनुसार हिमस्खलनपछि बरफ, चट्टान र माटोको ठूलो मात्रा थुप्रिएर दुई हिमाली खोल्साको संगम क्षेत्रमा प्राकृतिक अवरोध बनेको हो। चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै आएका विवरणअनुसार छोचेन खोला र पुरेपु हिमनदी क्षेत्रबाट आउने पानी थुनिएपछि ताल विस्तार भइरहेको छ।
यी दुवै जलस्रोत ल्हेन्दे खोलामा मिसिन्छन्। उक्त खोला रसुवागढी क्षेत्रमा पुगेर केरुङ खोलासँग मिसिने भएकाले प्राकृतिक बाँध भत्किएमा त्यसको प्रभाव नेपालतर्फको नदी प्रणालीमा समेत पर्न सक्ने चिन्ता बढेको छ।

करिब २० लाख घनमिटर पानी जम्मा
बिहीबारसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनियाँ पक्षले आगामी दुईदेखि तीन दिनभित्र थप पानी जम्मा भई यसको मात्रा करिब ३० लाख घनमिटर पुग्न सक्ने अनुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उपग्रह तस्बिरका आधारमा ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा नयाँ ताल बनेर विस्तार भइरहेको जनाएको छ।
प्राधिकरणका अनुसार रसुवागढी नाकाबाट करिब १८ किलोमिटर उत्तरतर्फ ल्हेन्दे खोलाको बहाव अवरुद्ध भएको छ। हाल ताल करिब ०.११ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
प्राकृतिक रूपमा बनेको बाँध कमजोर भएर अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बहाव आउन सक्ने भएकाले प्राधिकरणले प्रभावित क्षेत्रका बासिन्दा, उद्धारकर्मी र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कति ठूलो छ फेरि बाढीको जोखिम ?
त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहालका अनुसार तालको आकार र त्यसमा जम्मा भएको पानीको परिमाणलाई हेर्दा बुधबारको जस्तो विनाशकारी बाढी दोहोरिने सम्भावना कम देखिन्छ।
उनका अनुसार तालको प्राकृतिक बाँध फुटे पनि त्यसबाट आउने बहावलाई पूर्ण रूपमा जोखिममुक्त भने मान्न सकिँदैन। विशेषगरी उद्धार तथा राहतका लागि नदी किनार क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले सतर्कता अपनाउन आवश्यक छ।
ऊर्जा मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ पक्षले तालको आकार बढिरहेको र सम्भावित जोखिमबारे नेपाललाई जानकारी गराएको छ। त्यसैका आधारमा नेपालले पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको हो।
उनका अनुसार हाल तालमा जम्मा भएको पानी बुधबारको बाढीसँग तुलना गर्दा निकै कम भएकाले अघिल्लो घटनाभन्दा ठूलो क्षति हुने सम्भावना कम देखिए पनि प्राकृतिक बाँधको अवस्था अनिश्चित भएकाले जोखिमलाई बेवास्ता गर्न नमिल्ने अवस्था छ।
हिमस्खलनपछि कसरी बन्यो ताल ?
प्रारम्भिक अध्ययनअनुसार लाङटाङ हिमालको उत्तरी क्षेत्रमा रहेको ठूलो हिमनदी वा बरफको हिस्सा उच्च हिमाली क्षेत्रबाट तल खसेको थियो। बरफ, हिउँ, चट्टान र माटोको विशाल मिश्रण तीव्र गतिमा तल झर्दा ठूलो मात्रामा ऊर्जा उत्पन्न भएको विज्ञहरूको अनुमान छ।
जलस्रोत विशेषज्ञ सन्तोष नेपालका अनुसार करिब पाँच हजार मिटरभन्दा माथिल्लो उचाइबाट हिउँ, बरफ र चट्टानको ठूलो हिस्सा तल झरेको देखिन्छ। यसरी तल खसेको विशाल भग्नावशेषले नदी वा खोलाको बहाव अवरुद्ध गर्दा प्राकृतिक बाँध बनेको र त्यसको पछाडि पानी जम्मा भएर ताल बनेको हुन सक्ने प्रारम्भिक निष्कर्ष छ।
हिमस्खलनपछि बनेको खाडल र थुप्रिएको भग्नावशेषले पानीको प्राकृतिक निकास अवरुद्ध गरेपछि ताल विस्तार हुँदै गएको विज्ञहरूको भनाइ छ।
चीनतर्फबाट ड्रोनमार्फत निगरानी
चिनियाँ टोलीले सम्भावित बाढीको मुहान क्षेत्रमा ड्रोनमार्फत निरन्तर निगरानी गरिरहेको बताइएको छ। हिमालबाट हिउँ, माटो र गेग्रानसहितको बहाव अझै जारी रहेकाले तालमा पानी थपिने क्रम पनि जारी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
जलवायु तथा विपद् विज्ञहरूले प्राकृतिक बाँधको स्थिरता, तालमा थपिने पानीको मात्रा र त्यसको निकासको अवस्थाले आगामी जोखिम निर्धारण गर्ने बताएका छन्।
नेपालतर्फबाट उक्त स्थानमा प्रत्यक्ष रूपमा पुगेर अध्ययन गर्न भौगोलिक कठिनाइ रहेकाले हाल चिनियाँ पक्षबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा जोखिम मूल्यांकन भइरहेको छ।

सतर्क रहन आग्रह, तर अनावश्यक त्रास नफैलाउन सुझाव
विज्ञहरूले भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी नदी किनारमा उद्धार तथा राहतका लागि खटिएका टोलीले नदीको बहावमा हुन सक्ने अचानक परिवर्तनलाई ध्यानमा राख्नुपर्ने बताइएको छ।
तर, हालसम्म उपलब्ध प्रारम्भिक तथ्यका आधारमा बुधबारको जस्तै विशाल परिमाणको बाढी आउने निश्चित भइसकेको छैन। तालको प्राकृतिक बाँध, पानीको मात्रा र थप हिमस्खलन वा पहिरोको अवस्थाबारे निरन्तर निगरानी आवश्यक रहेको विज्ञहरूको निष्कर्ष छ।
ल्हेन्दे खोलामाथि बनेको यो प्राकृतिक तालले हिमाली क्षेत्रमा हुने हिमस्खलन, पहिरो र नदी अवरोधबाट उत्पन्न हुने आकस्मिक बाढीको जोखिम पुनः उजागर गरेको छ। आगामी दिनमा हिमाली नदी प्रणालीको निरन्तर निगरानी, सीमापार सूचना आदानप्रदान र प्रभावकारी पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता यस घटनाले स्पष्ट पारेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्