ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ४५   बजे

काठमाडौँ । हिमाल, हिमनदी र हिमतालको देश नेपाल अहिले जलवायु परिवर्तनबाट उत्पन्न नयाँ र जटिल प्राकृतिक जोखिमको सामना गरिरहेको छ। पछिल्ला वर्षहरूमा तापक्रम वृद्धि, हिमनदीको तीव्र पग्लाइ र हिमाली भूभागमा बढ्दो अस्थिरतासँगै नेपालका सयभन्दा बढी हिमताल सम्भावित जोखिमको सूचीमा रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको विशाल हिन्दकुश हिमालय क्षेत्र विश्वकै संवेदनशील पर्वतीय भूभागमध्ये एक मानिन्छ। यही क्षेत्रमा रहेका हजारौँ हिमतालमध्ये नेपाल र तिब्बत क्षेत्रमा जोखिम तुलनात्मक रूपमा बढी रहेको विभिन्न अध्ययन तथा विज्ञहरूको निष्कर्ष छ।

चाइनिज एकेडेमी अफ साइन्सेसबाट हिमताल विषयमा विद्यावारिधी गरेका वैज्ञानिक डा. नितेश खड्काका अनुसार, नेपालमा जोखिमको मूल्याङ्कन अब पुराना तथ्याङ्कमा मात्र सीमित राख्न मिल्ने अवस्था छैन।

उनका अनुसार सन् २०२० आसपास गरिएको अध्ययनले नेपालका २१ वटा हिमताललाई विशेष जोखिमयुक्त देखाएको भए पनि पछिल्ला वर्षमा हिमनदी पग्लने गति बढ्दै जाँदा नयाँ हिमताल बन्ने र पुराना तालको आकार तथा संरचना परिवर्तन हुने क्रम तीव्र बनेको छ।

डा. खड्का भन्छन्, “हिन्दकुश हिमालय क्षेत्रमा रहेका तालको अवस्थाबारे सन् २०२० तिर अध्ययन भएको थियो। त्यसपछि विशेष अध्ययन हुन सकेन। तापक्रम बढ्दै गएकाले दैनिकजसो हिउँ पग्लिने र हिमताल बन्ने क्रम बढेको छ, जसले गर्दा हिमतालको जोखिम पनि उस्तै बढिरहेको छ।”

उनका अनुसार जोखिमलाई केवल एउटा संख्यामा सीमित गरेर हेर्नुभन्दा प्रत्येक हिमतालको वैज्ञानिक अध्ययन, निगरानी र वर्गीकरण आवश्यक छ। कुनै ताल उच्च जोखिममा हुन सक्छ, कुनै मध्यम र कुनै तत्काल कम जोखिममा। तर हिमाली भूगोलको तीव्र परिवर्तनका कारण आज सुरक्षित देखिएको ताल भविष्यमा जोखिमपूर्ण नबन्ला भन्न सकिने अवस्था छैन।

पुरानो अध्ययनदेखि नयाँ चेतावनीसम्म

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा सार्वजनिक गरेको अध्ययनले नेपालको हिमाली क्षेत्रमा रहेका २१ वटा हिमताललाई विशेष जोखिमयुक्त देखाएको थियो।

सोही अध्ययनले नेपाल, तिब्बत र भारतका विभिन्न हिमाली क्षेत्रमा रहेका कुल ४७ वटा हिमताललाई सम्भावित खतराको सूचीमा राखेको थियो। त्यसमध्ये तिब्बत क्षेत्रमा २५ र भारतमा एउटा हिमताल जोखिमयुक्त रहेको उल्लेख गरिएको थियो।

तर पछिल्ला वर्षमा तापक्रम निरन्तर बढ्दै जाँदा हिमनदीको संरचना परिवर्तन भइरहेको छ। हिउँ र बरफ पग्लिएर नयाँ ताल बन्ने, पुराना तालमा पानीको मात्रा बढ्ने तथा प्राकृतिक बाँध कमजोर हुने सम्भावना बढ्दै गएको विज्ञहरू बताउँछन्।

नेपालतर्फ मात्रै दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्याङ्क विभिन्न अध्ययनमा उल्लेख गरिएको छ। ती सबै तत्कालै समान स्तरको जोखिममा छन् भन्ने होइन, तर तीमध्ये कति तालको अवस्था पछिल्लो समय बदलिएको छ भन्नेबारे अद्यावधिक वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ।

विशेष गरी हिउँ पहिरो, चट्टान खस्ने घटना वा माटो–ढुङ्गा–गेग्रानले बनेका प्राकृतिक बाँधका कारण सिर्जना भएका ताल बढी अस्थिर हुन सक्छन्। यस्ता प्राकृतिक संरचना कति समय टिक्छन् भन्ने कुरा भूगर्भीय अवस्था, तापक्रम, पानीको चाप र बाह्य घटनामा निर्भर हुन्छ।

जोखिमको केन्द्रमा कोसी जलाधार

डा. नितेश खड्काका अनुसार नेपालमा सबैभन्दा बढी जोखिमयुक्त हिमताल कोसी जलाधार क्षेत्रमा रहेका छन्। विशेष गरी दुधकोसी जलाधार क्षेत्रमा हिमनदी र हिमतालको घनत्व उच्च भएकाले यस क्षेत्रलाई अत्यन्त संवेदनशील मानिन्छ।

नेपालका धेरै ठूला नदी प्रणालीको मुहान तिब्बती क्षेत्रमा पनि फैलिएको छ। अरुण, दुधकोसी, तामाकोसी, भोटेकोसी, बूढीगण्डकी, मर्स्याङ्दी र हुम्ला कर्णालीजस्ता नदी प्रणालीमा सीमा पारिको हिमाली परिवर्तनले नेपालका तल्लो तटीय क्षेत्रलाई प्रत्यक्ष असर गर्न सक्छ।

डा. खड्का भन्छन्, “नेपालका धेरै ठूला नदीका मुहान तिब्बतमा छन्। त्यसैले तिब्बती क्षेत्रमा रहेका जोखिमयुक्त हिमताल वा हिमाली भूभागमा हुने परिवर्तनको असर नेपालमा पनि पर्न सक्छ।”

यसले हिमाली विपद्लाई केवल एउटा जिल्लाको वा एउटा देशको समस्या मात्र नभई अन्तरदेशीय जोखिमका रूपमा बुझ्नुपर्ने आवश्यकता देखाउँछ। नदीको मुहान एक देशमा र त्यसको तटीय बस्ती अर्को देशमा हुने अवस्थामा सूचना आदानप्रदान, संयुक्त निगरानी र समयमै चेतावनी प्रणाली अझ महत्त्वपूर्ण बन्छ।

इम्जा र च्छो रोल्पाले देखाएको बाटो

नेपालले हिमतालको जोखिम न्यूनीकरणमा केही महत्वपूर्ण अनुभव पनि हासिल गरिसकेको छ। इम्जा हिमताल र च्छो रोल्पा हिमतालको जोखिम घटाउन विगतमा विभिन्न संरचनात्मक तथा प्राविधिक उपाय अपनाइएको थियो।

इम्जा हिमतालमा पानीको सतह घटाउन पक्की निकास संरचना निर्माण गरिएको थियो। तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीसमेत विकास गरिएको थियो।

इसीमोडको अध्ययनमा संलग्न वरिष्ठ जलवायु विज्ञ तथा हिमताल अध्येता डा. अरुणभक्त श्रेष्ठका अनुसार, इम्जा र च्छो रोल्पाबाट प्राप्त अनुभवलाई अन्य जोखिमयुक्त हिमतालमा पनि चरणबद्ध रूपमा विस्तार गर्नुपर्छ।

उनका अनुसार, जोखिम शून्य बनाउन सम्भव नहुन सक्छ, तर वैज्ञानिक अध्ययन, पानीको सतह नियन्त्रण, प्राकृतिक बाँधको निगरानी र प्रभावकारी पूर्वसूचना प्रणालीमार्फत सम्भावित क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ।

यसका लागि कुन हिमतालमा तत्काल हस्तक्षेप आवश्यक छ र कुनलाई निरन्तर निगरानीमा राख्नुपर्छ भन्ने स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने देखिन्छ।

बढ्दो तापक्रमसँगै बढ्दो अनिश्चितता

हिमतालको जोखिमलाई जलवायु परिवर्तनसँग अलग गरेर हेर्न सकिँदैन। विश्वव्यापी तापक्रम वृद्धि हुँदै जाँदा हिमनदीहरू पग्लिरहेका छन्। कतिपय स्थानमा हिमनदी पछाडि हट्दै जाँदा नयाँ ताल बन्ने प्रक्रिया तीव्र भएको छ।

हिमतालका अर्का अध्येता प्राडा. रिजनभक्त श्रेष्ठका अनुसार, तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हुने परिवर्तनले नेपाललाई दीर्घकालीन जोखिममा राखेको छ।

उनका अनुसार, हिमताल फुटिसकेपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुनु पर्याप्त हुँदैन। सम्भावित विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, वैज्ञानिक निगरानी गर्ने र तल्लो तटीय क्षेत्रमा समयमै सूचना पुर्‍याउने प्रणाली विकास गर्नुपर्छ।

हिमताल फुट्ने घटनालाई प्राविधिक भाषामा ‘ग्लेसियल लेक आउटबर्स्ट फ्लड’ अर्थात् हिमताल विस्फोटजन्य बाढी भनिन्छ। तर जोखिम केवल तालको प्राकृतिक बाँध फुट्दा मात्र उत्पन्न हुँदैन। हिमपहिरो, ठूलो चट्टान खस्ने घटना, हिमस्खलन वा अत्यधिक पानीको चापले पनि तालको संरचनामा अचानक परिवर्तन ल्याउन सक्छ।

त्यसैले हिमतालको जोखिम मूल्याङ्कन स्थिर सूची बनाएर वर्षौँसम्म त्यसैमा निर्भर रहने विषय होइन। हिमाली भूगोल परिवर्तनशील भएकाले जोखिमको मूल्याङ्कन पनि निरन्तर अद्यावधिक हुनुपर्छ।

भोटेकोसीको बाढीले बढाएको चिन्ता

हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली मुहान क्षेत्रमा हुने घटनाको प्रभाव तल्लो तटीय क्षेत्रमा कति तीव्र र विनाशकारी हुन सक्छ भन्ने बहसलाई पुनः केन्द्रमा ल्याएको छ।

हिमाली क्षेत्रमा हुने कुनै असामान्य प्राकृतिक घटना—हिमपहिरो, हिमनदीको अस्थिरता, प्राकृतिक बाँध वा पानीको अचानक बहाव—को सही प्रकृति पहिचान गर्न समय लाग्न सक्छ। तर सम्भावित जोखिमबारे जानकारी समयमै तल्लो क्षेत्रमा पुग्न नसके त्यसको मानवीय र भौतिक क्षति निकै ठूलो हुन सक्छ।

विज्ञहरूका अनुसार, अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हिमाली क्षेत्रमा भइरहेका परिवर्तनलाई समयमै पहिचान गर्ने क्षमता विकास गर्नु हो। नदीको तल्लो भागमा पानीको सतह मापन गरेर मात्र सबै प्रकारका अचानक आउने बाढीको पूर्वानुमान गर्न सकिँदैन।

यसका लागि उपग्रह तस्बिर, स्वचालित सेन्सर, मौसम तथा जलमापन केन्द्र, ड्रोन निगरानी र स्थानीय समुदायमा आधारित सूचना प्रणालीलाई एकीकृत गर्नुपर्ने आवश्यकता देखिएको छ।

वैज्ञानिक अध्ययन किन आवश्यक छ ?

नेपालमा हिमतालसम्बन्धी धेरै अध्ययन भएका छन्। तर फरक–फरक समय र संस्थाले गरेका ती अध्ययनलाई एकीकृत गरेर अद्यावधिक राष्ट्रिय जोखिम नक्सा तयार गर्नुपर्ने आवश्यकता बढ्दै गएको विज्ञहरूको भनाइ छ।

डा. खड्काका अनुसार, अहिले उपलब्ध वैज्ञानिक प्रतिवेदनहरूको विस्तृत विश्लेषण गर्दै नयाँ अध्ययन गर्नुपर्छ। यसबाट कुन तालको आकार बढिरहेको छ, कुन प्राकृतिक बाँध कमजोर बन्दै गएको छ र कुन जलाधार क्षेत्रमा तत्काल निगरानी आवश्यक छ भन्ने स्पष्ट हुन सक्छ।

यस्तो अध्ययन केवल शैक्षिक प्रयोजनका लागि नभई प्रत्यक्ष रूपमा जनधनको सुरक्षा, पूर्वाधार संरक्षण र विपद् व्यवस्थापनसँग जोडिनुपर्छ।

नेपालका धेरै सडक, पुल, जलविद्युत् आयोजना र बस्ती नदी किनारमा केन्द्रित छन्। हिमाली मुहान क्षेत्रमा अचानक आउने ठूलो बाढीले केही घण्टामै सयौँ किलोमिटर तलसम्म असर पुर्‍याउन सक्छ।

त्यसैले जोखिमयुक्त हिमतालको अध्ययनलाई वातावरणीय विषय मात्र नभई राष्ट्रिय पूर्वाधार र मानव सुरक्षाको विषयका रूपमा लिनुपर्ने देखिन्छ।

अबको आवश्यकता : अध्ययनबाट कार्यान्वयनतर्फ

नेपालसँग इम्जा र च्छो रोल्पाजस्ता हिमतालको जोखिम न्यूनीकरणको अनुभव छ। तर हजारौँ हिमताल रहेको देशमा केही उदाहरण मात्र पर्याप्त हुँदैनन्।

विज्ञहरूले अब जोखिमयुक्त तालको राष्ट्रिय प्राथमिकता सूची तयार गर्नुपर्ने, नियमित उपग्रह तथा स्थल निगरानी गर्नुपर्ने र सीमा पारिका नदी प्रणालीका लागि चीनसँग सूचना आदानप्रदानको संयन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

त्यस्तै, जोखिमयुक्त नदी किनारका समुदायसम्म केही मिनेटभित्र सूचना पुग्ने प्रणाली विकास गर्नु पनि उत्तिकै आवश्यक छ। केवल सामाजिक सञ्जालमा सूचना प्रकाशित गरेर मात्र पूर्वसूचना प्रणाली प्रभावकारी हुँदैन। साइरन, मोबाइल सूचना, रेडियो, स्थानीय प्रशासन र समुदायस्तरको प्रत्यक्ष सञ्चार संयन्त्रबीच समन्वय आवश्यक हुन्छ।

हिमालमा हुने परिवर्तनलाई पूर्ण रूपमा रोक्न सम्भव छैन। तर त्यसबाट उत्पन्न जोखिमलाई पहिचान गर्ने, मापन गर्ने र समयमै चेतावनी दिने क्षमता भने विकास गर्न सकिन्छ।

नेपालका हिमतालहरू आज केवल हिमाली सौन्दर्यका प्रतीक मात्र छैनन्। जलवायु परिवर्तनसँगै तीमध्ये कतिपय भविष्यका सम्भावित विपद्का स्रोत पनि बन्न सक्छन्।

त्यसैले प्रश्न अब कति वटा हिमताल जोखिममा छन् भन्ने तथ्याङ्कमा मात्र सीमित छैन। मुख्य प्रश्न हो—जोखिमको वास्तविक अवस्था थाहा पाउन नेपालसँग पर्याप्त अद्यावधिक अध्ययन, निरन्तर निगरानी र प्रभावकारी पूर्वसूचना प्रणाली छ कि छैन?

यसको उत्तर खोज्नु र त्यसअनुसार तयारी गर्नु अब नेपालको हिमाली भविष्यका लागि अत्यावश्यक बन्दै गएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu