डोटी, २४ माघ । राष्ट्रियसभा सदस्यका लागि ७ नम्बर प्रदेश डोटीमा भएको मतदान सम्पन्न भएको छ । उक्त प्रदेशमा ९९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसदले मतदान गरेका छैनन् ।
स्थानीय तहका प्रमुख तथा उप– प्रमुखले शत प्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जनाले मात्रै मतदान गरेका छन् । राष्ट्रियसभा चुनावका लागि स्थानीय तहका १ सय ७६ र प्रदेशसभाका ५३ जना सदस्य गरी कुल २ सय २९ जना मतदाता रहेका थिए । दुई जना सांसदले मतदान नगरेपछि जम्मा २ सय २७ मत खसेको छ । राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारुले मतदान नगरेको निर्वाचन कार्यालय डोटीले जनाएको छ । आफ्नो पार्टीकातर्फ बाट उम्मेदवार पनि नभएको र कुनै दलले भोट पनि नमागेको कारण आफूहरु मतदान गर्न नगएको राजपाका प्रदेश सांसद मालती रानाथारुले बताउनुभयो ।
७ नम्बर प्रदेशमा बुघबार सम्पन्न राष्ट्रियसभाको चुनावमा दुई पदका वाम तथा लोकतान्त्रीक गठबन्धनका ४ जना उम्मेदवारका बीच प्रतिस्पर्धा भएको छ ।
दलित तथा अपांग र अल्पसंख्यकतर्फका उम्मेदवारका बीच प्रतिस्पर्धा भएको हो । दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र एमालेका तर्फबाट चक्रप्रसाद स्नेहीका बीचमा प्रतिस्पर्धा भएको छ । अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराका बीच प्रतिस्पर्धा भएको रहको छ ।
प्रतिक्रिया दिनुहोस्