काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।
तीनजना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालले बताए ।
निर्वाचन आयोगले बिहान ११ बजे शीतल निवासमा राष्ट्रपतिलाई राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुझाउँदैछ । तीनजना मनोनयनका लागि सरकारले सिफारिस गरे पनि दलहरुसँग सहमति नगरी एकलौटी सिफारिस गरिएकाले राष्ट्रपति थप छलफल गरेर निर्णय लिने पक्षमा देखिएकी छन् ।
निर्वाचन आयोगले ढिलोमा माघ ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम सोमवार साँझसम्म बुझाइसक्नुपर्नेछ । दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमवार वा मंगलबारै अन्तिम परिणाम आयोगले बुझाउनेछ ।
आयोगले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ । यता राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तीन नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । दलहरुसँग छलफल नै नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफारिस गरिएका नामहरुप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् । शुक्रवारको मन्त्रिपरिषद बैठकले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपतिले दलहरुसँग परामर्श नगरी नामहरु सिफारिस गरेको भन्दै ती नामहरुप्रति असन्तुष्टि जनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्