काठमाडौ, २९ माघ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी एकता र सरकार गठनबारे छलफल गर्ने भएका छन्।
दुई नेताहरुबीच केहीबेरमा ‘वान टु वान’ भेट हुन लागेको एमाले निकट स्रोतले बताएको । एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत रहने र छिटै नया नतिजा दिने विषयमै केन्द्रित हुने बताएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति प्रस्ताव गरेको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए प्रचण्डले अध्यक्ष पाउनु पर्ने माओवादीको प्रस्ताव छ।
तर एमाले भने अहिले नै प्रचण्डलाई अध्यक्ष दिन तयार छैन। ओली प्रधानमन्त्री भएर पार्टीमा दुई सहअध्यक्ष बनाई अघि बढ्नु पर्ने एमालेको प्रस्ताव छ।
दुई अध्यक्षबीच हुने छलफलमा ठोस निष्कर्ष निस्किए त्यो विषयबारे थप छलफल गर्न मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ।
नेतृत्वको विषयमा दुई पार्टीका फरक प्रस्ताव भएपछि पछिल्लो समय एकता प्रक्रियाको गति सुस्त मात्र थिएन, आशंका पनि जन्माएको थियो।
प्रतिक्रिया दिनुहोस्