काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
देशवासीको सम्बोधन गर्दै सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, पार्टीका नेता लगायत सबैलाई धन्यवाद समेत दिनुभयो । यस्तै देउवाले तीन तहको निर्वाचन गराउनु आफनो सरकारको महत्वपूर्ण उपलब्धि भएको भन्दै स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी पुरा गरेको बताउनु भयो । सम्बोधनपछि प्रधानमन्त्री देउवा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाउनु भएको छ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
देउवाको राजीनामापछि राष्ट्रपतिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्