काठमाडौं , १२ फागुन । सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारी गरको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले अब विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ।
त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर बताउँछन् ।
उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारि दिए । त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको छ । ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउनेछ ।
‘कम्तिमा सन् २०१८भित्र हामी २र४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्छन्, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’
वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्