काठमाडौं, १५ फागुन। एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक बस्दैछ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका निर्माण गर्ने भएको छ । फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए ।
यसअघिको बैठकमा दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए । पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ ।
त्यस्तै भ्रातृ संगठनहरुको एकीकरणको बिधिसमेत यही कार्यदलले तय गर्नेछ ।
कार्यदलको संयोजक माओवादी नेता रामबहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्