काठमाडौं २ चैत । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई देश निकाला गरेको छ । दक्षिण अफ्रिकी राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।
राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री रुबियोले दक्षिण अफ्रिकाका राजदूतलाई अब अमेरिकामा स्वागत नगर्ने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । इब्राहिम रसूल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ रहेका उहाँले उल्लेख गर्नुभएको छ ।
दक्षिण अफ्रिकासँगको बढ्दो तनावका बीच अमेरिका राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगेको बीबीसीको खबरमा उल्लेख छ ।
यसअघि फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुभएको थियो र त्यहाँको कानूनलाई हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताउनुभएको थियो । गएको हप्ता ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई आफ्नो देशमा बसोबास गर्न स्वागत छ भनेपछि दुई देशबीच झन् तनाव बढेको थियो ।
यसैबीच दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्ना राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय खेदजनक भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्