काठमाडौं ३ चैत । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकलाई आफ्नो मुलुकमा यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सरकारले कूल ४१ देशका नागरिकलाई मुलुकमा प्रतिबन्ध लगाउने तयारी गरेको हो।
ती देशलाई ३ समूहमा विभाजन गरिएको छ।
पहिलो समूहमा १० देश छन्। जसमा अफगानिस्तान, इरान, सिरिया, क्युवा, उत्तर कोरियासहितका देश पर्छन्। उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाइने बताइएको छ।
दोस्रो समूहमा ५ देशको नाम छ। यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान छन्। यी देशलाई भने आंशिक निलम्बन गरिनेछ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई असर गर्नेछ।
तेस्रो समूहमा जम्मा २६ देश छन्। जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तानलगायत मुलुक पर्छन्।
यी देशका सरकारले ६० दिनभित्र कमजोरी सच्याउन पहल गरेनन् भने तिनलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने विचार गरिनेछ।
नाम न छाप्ने सर्तमा एक अमेरिकी अधिकारीले यस सूचीमा परिवर्तन हुन सक्ने बताएका छन्।
यो सूची अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्