काठमाडौं २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि भन्सार वृद्धि रोकेपछि युरोपेली युनियन ९ईयू० ले अमेरिकाविरुद्धको प्रतिशोधात्मक भन्सार शुल्क स्थगित गरेको छ ।
चीनबाहेक सबै देशहरूका लागि ट्रम्पको विश्वव्यापी १० प्रतिशत आधारभूत शुल्क कायमै छ । अमेरिकामा प्रवेश गर्ने सबै आल्मुनियम, स्टील र कारहरूका लागि २५ प्रतिशत दर पनि कायमै छ ।
ट्रम्पले चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाएपछि बेइजिङ र वाशिङ्गटनबीचको व्यापार युद्ध झनै गहिरिँदै गएको बीबीसीले जनाएको छ । चीनले पनि अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाएर बदला लिएको छ ।
यसैबीच चीनले अमेरिकी राष्ट्रपति ट्रम्पको करनीतिविरुद्धको लडाइँमा गरेको साझेदारीको प्रस्तावलाई अस्ट्रेलियाले अस्वीकार गरेको छ । अमेरिकाले अस्ट्रेलियाली सामानहरूमा पनि १० प्रतिशत कर लगाएको छ ।
अस्ट्रेलियाका लागि चीनका राजदूत सियाओ कियानले अस्ट्रेलियासँग सहकार्यका लागि अपील गर्दै संयुक्त विरोध नै अमेरिकाको आधिपत्यवादी र डरलाग्दो व्यवहार रोक्ने एकमात्र तरिका रहेको बताउनुभएको खबरमा उल्लेख छ ।
यद्यपि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अस्ट्रेलियालीहरूले आफ्नो पक्षमा बोल्ने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्