काठमाडौं २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप कर लगाउने विचार गरिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले भियतनामलाई ‘धम्की’ को विरोध गर्न आग्रह गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले अमेरिकाको नाम नलिइकन भियतनामलाई विश्वव्यापी स्वतन्त्र व्यापार प्रणाली कायम राख्न ‘एकतर्फी धम्की’ को विरोध गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।
चिनियाँ राष्ट्रपति अहिले दक्षिणपूर्वी एशियाको यात्रामा हुनुहुन्छ । उहाँले मलेशिया र कम्बोडियाको पनि भ्रमण गर्नुहुनेछ । चिनियाँ राष्ट्रपतिको यो यात्रा लामो समयदेखि योजनाबद्ध भए पनि अमेरिकासँगको बढ्दो व्यापार युद्धका कारणले यसको महत्त्व बढेको खबरमा उल्लेख छ ।
ट्रम्प प्रशासनले गएको हप्ता उच्च भन्सार दर ९० दिनका लागि स्थगित गर्नुअघि भियतनामले ४६ प्रतिशतसम्म अमेरिकी करको सामना गरिरहेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनामी नेताहरूसँगको सीको भेटले अमेरिकाले ‘बिगार्ने’ लक्ष्य राखेको टिप्पणी गर्नुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सीले भियतनामको कम्युनिस्ट पार्टीका महासचिव तो लामलाई ‘एकपक्षीय धम्कीलाई संयुक्त रूपमा विरोध गर्न’ भन्नुभएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चुलिएको छ । ट्रम्प प्रशासनले यस महिनाको शुरूमा धेरैजसो चिनियाँ आयातमा १४५ प्रतिशतको भन्सार शुल्क लगाएको छ । यस्तै चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।
प्रतिक्रिया दिनुहोस्