काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको श्रद्धाञ्जली समारोहमा उनका उत्तराधिकारी मानिएका छोरा मोज्तबा खामेनी अनुपस्थित रहेपछि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
आइतबार तेहरानमा आयोजित शोक सभामा खामेनीका अन्य तीन छोरा मसुद, मोस्तफा र मेइसाम सहभागी भए। कार्यक्रममा राष्ट्रपति मसुद पेजेसकियान, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का उच्च अधिकारीसहित शीर्ष सरकारी नेतृत्वको उपस्थिति थियो। तर मोज्तबा खामेनी नदेखिएपछि उनको स्वास्थ्य अवस्था र सुरक्षाबारे विभिन्न अनुमान सार्वजनिक भएका छन्।
इरान सरकारले उनको अनुपस्थितिबारे कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इजरायलबाट हुन सक्ने सम्भावित सुरक्षा जोखिमका कारण उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराइएको हुन सक्छ। केही रिपोर्टमा उनी अमेरिकी–इजरायली हवाई आक्रमणमा घाइते भएको आशंकासमेत उल्लेख गरिएको छ।
मोज्तबा खामेनी सर्वोच्च नेताको जिम्मेवारी सम्हालेयता सार्वजनिक रूपमा देखिएका छैनन्। यही कारण उनको अनुपस्थितिलाई सत्ता हस्तान्तरण र सुरक्षा संवेदनशीलतासँग जोडेर पनि हेरिएको छ।
इरान सरकारले खामेनीको अन्त्येष्टिलाई ‘शताब्दीकै सबैभन्दा ठूलो अन्त्येष्टि’ का रूपमा वर्णन गर्दै एक करोडभन्दा बढी मानिस सहभागी हुने जनाएको छ। तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा श्रद्धाञ्जली कार्यक्रम जारी छ भने सोमबार राजधानी तेहरानमा विशाल शवयात्रा निकालिने कार्यक्रम तय गरिएको छ। त्यसपछि पार्थिव शरीर कोम, इराक र अन्ततः बिहीबार जन्मस्थान मशहदमा लगेर अन्त्येष्टि गरिनेछ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टि कार्यक्रमका कारण इरानसँगको शान्ति वार्ता केही समयका लागि स्थगित भएको बताएका छन्। उनले अन्त्येष्टिमा इरानका शीर्ष अधिकारीहरू एकै स्थानमा भेला भएको प्रसंग उल्लेख गर्दै दिएको अभिव्यक्तिप्रति इरानमा तीव्र प्रतिक्रिया देखिएको छ। श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजीसमेत गरेका छन्।
अन्त्येष्टि कार्यक्रमका क्रममा तेहरानमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। ठूलो भीडका कारण स्वास्थ्य तथा आपत्कालीन सेवासमेत उच्च सतर्कतामा राखिएको इरानी अधिकारीहरूले जनाएका छन्।






प्रतिक्रिया दिनुहोस्