सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत साउन २३ गते बिहान गञ्जेडाँडामा स्थानीय ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुसन्धान अघि बढाउँदै आएको थियो।
प्रहरीका अनुसार सोमबार १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का पक्राउ परेका हुन्।
यसअघि पनि घटनासँग सम्बन्धित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। पछिल्लो पटक थप दुई जना पक्राउ परेसँगै प्रहरीले घटनामा उनीहरूको संलग्नता तथा हत्याको कारणबारे अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बेका अनुसार घटनाको मोटिभ तथा हत्याको वास्तविक कारण पत्ता लगाउने उद्देश्यले अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै घटनासँग सम्बन्धित अन्य प्रमाण र तथ्य संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण तथा पक्राउ परेकाहरूको भूमिकाबारे तत्काल थप जानकारी सार्वजनिक गरेको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्