काठमाडौं । एनसेलले नेपालमा व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संगठनलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ ।
स्थानीय रूपमा समर्थित यस प्लेटफर्ममार्फत ग्राहकले डोमेन दर्ता तथा व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट लिन सक्ने कम्पनीले जनाएको छ । यससँगै डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनको सुविधा पनि उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार नेपाली व्यवसाय डिजिटल माध्यमतर्फ अघि बढिरहेका बेला नेपालमै पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ । क्लाउडसुइटमार्फत व्यवसायले वेबसाइट होस्ट गर्नुका साथै आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन् ।
दुईवटा प्याकेज
एनसेलले क्लाउडसुइटअन्तर्गत दुईवटा वेब होस्टिङ प्याकेज सार्वजनिक गरेको छ ।
बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ । यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन् ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ छ । यसमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाली मुद्रामै भुक्तानी, डेटा नेपालमै
एनसेलका अनुसार क्लाउडसुइट प्रयोगकर्ताले अन्तर्राष्ट्रिय वेब होस्टिङ सेवा खरिद गर्न विदेशी मुद्रा प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ । ग्राहकले सेवाको भुक्तानी नेपाली मुद्रामै गर्न सक्नेछन् ।
कम्पनीले क्लाउडसुइटमार्फत वेबसाइट होस्टिङ तथा डेटा नेपालमै रहने जनाएको छ । यसबाट व्यवसायले आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्तिमा थप नियन्त्रण कायम गर्न र नियामक आवश्यकताहरू पूरा गर्न सहज हुने दाबी गरिएको छ ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल यात्राको आधार भएको बताउँदै स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालमै डेटा होस्टिङले व्यवसायलाई डिजिटल उपस्थिति बलियो बनाउन सहयोग गर्ने बताएका छन् ।
कम्पनीका अनुसार क्लाउडसुइटको पहिलो चरणमा डोमेन दर्ता र वेब होस्टिङ सेवालाई प्राथमिकता दिइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्