काठमाडौं । भारतीय अभिनेता इमरान हाश्मी १९ वर्षपछि ‘आवारापन–२’ मार्फत शिवम पण्डितको भूमिकामा पर्दामा फर्किएका छन्। फिल्म आगामी शुक्रबार अर्थात् अगस्ट १४ देखि प्रदर्शनमा आउनेछ।
रिलिजअघि नै फिल्मले अग्रिम टिकट बुकिङमा राम्रो प्रतिक्रिया पाएको छ। सैननिल्कका अनुसार हालसम्म फिल्मका विभिन्न भाषा संस्करणका गरी ३७ हजार १८७ टिकट बिक्री भइसकेका छन्। अग्रिम बुकिङबाट करिब १ करोड ३० लाख भारतीय रुपैयाँ संकलन भएको बताइएको छ।
पहिलो दिन राम्रो कमाइको अपेक्षा
फिल्म प्रदर्शन हुन अझै केही समय बाँकी रहेकाले अग्रिम टिकट बिक्री ५० हजार नाघ्न सक्ने अनुमान गरिएको छ। यसले ‘आवारापन–२’ ले पहिलो दिन बक्स अफिसमा राम्रो सुरुआत गर्न सक्ने अपेक्षा गरिएको छ।
सन् २००७ मा प्रदर्शनमा आएको ‘आवारापन’ व्यावसायिक रूपमा ठूलो सफलता हासिल गर्न नसके पनि फिल्मका गीतले दर्शकमाझ लोकप्रियता पाएका थिए। त्यसैको प्रभावले सिक्वेलप्रति पनि दर्शकको चासो बढेको देखिएको छ।
दिशा पटानी र शबाना आजमी पनि मुख्य भूमिकामा
मुकेश भट्ट र विशेष फिल्म्सको प्रस्तुतिमा बनेको ‘आवारापन–२’ नितिन कक्करले निर्देशन गरेका हुन्। विशेष भट्ट निर्माता रहेको फिल्ममा इमरान हाश्मीसँगै दिशा पटानी र शबाना आजमीको पनि मुख्य भूमिका छ।
‘आवारापन–२’ ले बक्स अफिसमा सनी देओल अभिनीत ‘बन्तवारा १९४७’सँग प्रतिस्पर्धा गर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्